डेस्कटप र ईमेल ह्याक गरेर ‘कनेक्ट आईपीएस’बाट साढे ७ लाख झिकियो, पाँच जनाको गिरोह नै फरार
काठमाडौं : डेस्कटप कम्प्युटर र इमेल ह्याक गरी ‘कनेक्ट आईपीएस’ मार्फत बैंक खाताको रकम चोरी गर्ने एउटा गिरोहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
सुजन चित्रकारको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलबार पाँचजना प्रतिवादीविरुद्ध ‘विद्युतीय माध्यम सम्बद्ध ठगी’ कसुरमा अभियोग पत्र दायर गरेको हो।
मुद्दाका प्रतिवादीहरूमा सप्तरीका १९ वर्षीय सञ्जीव कुमार शर्मा, जाजरकोटका २१ वर्षीय डनिस शाही, बाजुराका २२ वर्षीय सरोज विष्ट, मोरङका २२ वर्षीय उज्ज्वल बस्नेत र पर्साकी २२ वर्षीया रूपा कुमारी थापा रहेका छन्। उनीहरू सबै हाल फरार छन्।
यसरी भएको थियो ह्याकिङ र ठगी
जाहेरवाला सुजन चित्रकारका अनुसार उनको कम्प्युटरमा पासवर्ड परिवर्तनका लागि भन्दै लगातार करिब १०० वटा सन्देश आएका थिए। त्यसपछि उनले पासवर्ड परिवर्तन गरी गुगलमा ‘सेभ’ गरेका थिए। त्यसको केही समयपछि कम्प्युटरमा ‘अपडेट हुँदैछ’ भन्ने सन्देश देखियो।
सोही समयमा प्रतिवादीहरूले चित्रकारको इमेल आईडीमा अनधिकृत पहुँच पुर्याई उनको लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकको खातामा पहुँच बनाएका थिए।
प्रतिवादीहरूले इमेलबाटै ‘ओटीपी’ कोड प्राप्त गरी कनेक्ट आईपीएसमार्फत ७ लाख ५४ हजार रुपैयाँ विभिन्न बैंक खातामा रकमान्तर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
कुन प्रतिवादीको खातामा कति रकम गयो?
प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धान अनुसार चित्रकारको खाताबाट चोरी भएको विभिन्न पाँच जनाको खातामा गएको देखिन्छ।
चित्रकारको खाताबाट सञ्जीव कुमार शर्माको गरिमा विकास बैंकको खातामा ५ लाख ४९ हजार, सरोज विष्टको कुमारी बैंकको खातामा १ लाख रुपैयाँ रकमान्तर भएको छ।
यस्तै उज्ज्वल बस्नेतको सिद्धार्थ बैंकको खातामा ५० हजार, डनिस शाहीको लक्ष्मी सनराइज बैंकको खातामा ५० हजार र रूपा कुमारी थापाको महालक्ष्मी विकास बैंकको खातामा : ५ हजार रुपैयाँ गएको वैंकिङ विवरणहरूमा देखिन्छ।
सजाय र क्षतिपूर्तिको मागदाबी
सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध ठगीको कसुरमा मुद्दा चलाएको छ। उनीहरूलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।
साथै, पीडित सुजन चित्रकारलाई भएको ७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति प्रतिवादीहरूबाटै भराउन र पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अभियोग पत्रमा मागदाबी गरिएको छ।
फरार रहेका प्रतिवादीहरूको हकमा अदालतबाटै पक्राउ पुर्जी जारी गरी कारबाही अघि बढाउन अनुरोध गरिएको छ।
वैशाख १५, २०८३ मंगलबार २०:१६:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।