नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं : नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो।

नेपाल बीमा प्राधिकरण, कुपण्डोलबाट प्राप्त छानबिन प्रतिवेदन र सिफारिसका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। आशिषमाथि बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोप छ।

प्राधिकरणले गत वैशाख ८ गते उक्त कम्पनीको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर भएको निष्कर्षसहित थप अनुसन्धानका लागि ब्यूरोमा प्रतिवेदन पठाएको थियो।

आशिषलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता श्रेष्ठले पक्राउ परेका आशिषमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। 

बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) मा उल्लेख भए अनुसार, 'बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बीमालेख जारी गर्दा, बीमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, बीमा दाबी भुक्तानी गर्दा वा बीमा व्यवसाय सञ्चालनको क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरुपयोग गरेमा' त्यसलाई बीमा ऐनबमोजिम कसुर गरेको मानिने उल्लेख छ।

वैशाख १५, २०८३ मंगलबार १८:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।