नक्कली अटोपार्ट्सविरुद्ध सिप्रदीको सचेतना अभियान, वर्कशपमै पुगेर चिन्न सिकाइँदै सक्कली सामान
काठमाडौं : सरकारले सीमा नाकामा हुने अवैध आयात र नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले देशव्यापी सचेतना अभियान सुरु गरेको छ।
नक्कली पार्ट्सका कारण सवारी साधनमा हुने क्षति र दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले सिप्रदीले सचेतना अभियान सुरु गरेको हो। अभियानअन्तर्गत कम्पनीका प्रतिनिधिहरू धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्ज लगायतका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरका ग्यारेज, वर्कशप र यातायात पार्किङ स्थलमा पुगेर मेकानिक्स, चालक र सवारी धनीलाई प्रत्यक्ष रूपमा जानकारी दिइरहेका छन्।
सिप्रदीले सक्कली र नक्कली पार्ट्सबीचको भिन्नता बुझाउन नमुना पार्ट्ससहितको पिकअप भ्यान प्रयोग गरी प्रयोगात्मक जानकारी समेत प्रदान गर्दै आएको छ। सिप्रदीका अनुसार सक्कली टाटा जेन्युइन पार्ट्स र फ्लुइड्स (मोबिल आदि) चिन्नका लागि उपभोक्ताले प्याकेजिङमा रहेका तीन मुख्य कुरामा ध्यान दिनुपर्नेछ : प्याकेटमा उल्लेख गरिएको विशेष नम्बर कोड, नेपालका लागि तोकिएको कन्ट्री कोड र सिप्रदी अटोपार्ट्सको आधिकारिक होलोग्राम।
नक्कली पार्ट्सको प्रयोगले तत्काल केही रकम सस्तो देखिए पनि दीर्घकालमा इन्जिनमा गम्भीर क्षति पुग्ने र यात्रुको सुरक्षामा जोखिम बढ्ने प्राविधिकहरू बताउँछन्। सीमामा सरकारको कडाइ र यस्ता सचेतना कार्यक्रमले अटोमोबाइल क्षेत्रमा हुने अवैध व्यापार निरुत्साहित हुने र उपभोक्तालाई ठगिनबाट बचाउने अपेक्षा गरिएको छ। सिप्रदीले आफ्ना आधिकारिक डिलर वा सिप्रदीको नेटवर्कबाट मात्र सामान खरिद गर्न आग्रह गरेको छ।
वैशाख १५, २०८३ मंगलबार १७:३१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।