देउवा पक्षको शर्त : पहिले भूमिका, अनि महाधिवेशन

देउवा पक्षको शर्त : पहिले भूमिका, अनि महाधिवेशन

काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पार्टीमा आफ्नो भूमिका खोज्न थालेको छ। पार्टीमा १५ औँ महाधिवेशनको तयारी अगाडि बढाइएको अवस्थामा पार्टी एकताको मुद्दा उठाउँदै देउवा पक्षले महाधिवेशन अघि संवाद र सहमतिमार्फत पार्टीमा सम्मानजनक भूमिका खोजिरहेको हो।

नेता मीनबहादुर विश्वकर्माले पार्टीमा बृहत्तर एकता कायम गर्न १४ औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूको जिम्मेवारी तय हुनुपर्ने धारणा राखे। बहुसंख्याक केन्द्रीय सदस्य विशेष महाधिवेशन बाहिर हरेकोले उनीहरूलाई एकतामा ल्याउनु अहिलेको प्रमुख आवश्यकता भएको उनले भनाई छ। उनीहरूलाई नसमेटेर पार्टीको आन्तरिक एकता सुदृढ नहुने देउवा पक्षको तर्क छ। 

आफू एकताको पक्षमा रहेको उल्लेख गर्दै नेता विश्वकर्माले पार्टीलाई एकताबद्ध राख्ने विषयमा केन्द्रित भएर नेतृत्व तहमा छलफल हुनुपर्ने बताए। उनले पार्टीभित्रको आन्तरिक विवाद समाधान भए मात्र १५ औँ महाधिवेशनमा जान सकिने बताए। 

पार्टीभित्रको असन्तुष्टि र पदीय सम्मानका विषयहरू संवादबाटै हल हुनुपर्ने उनको भनाइ छ। विश्वकर्माले भने, "अब पार्टी विभाजनतर्फ होइन, पार्टी एकतातर्फ लैजाने सवालमा हो। त्यो भनेको अब सम्मान के-के हो भनेर त संवादले नै टुङ्ग्याउँछ। संवाद हुनुपर्यो, छलफल हुनुपर्यो, अनि त्यसमा नमिलेका कुराहरूलाई मिलाउँदै लैजाने हो।"

पार्टीलाई एकताबद्ध बनाउन आफ्नो पक्षबाट प्रयास भइरहेको उल्लेख गर्दै उनले भने, "तर संवादको विन्दु नै प्रारम्भ नभई राखेको हुनाले चाहिँ अब हाम्रो जिम्मेवारी के हो ? पार्टी एकता राख्नका लागि नेताहरूले के गर्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर छलफल अगाडि बढिरहेको छ।"

विश्वकर्माले पार्टीका आन्तरिक विवादमा एउटा सहमति गरेर मात्र १५ औँ महाधिवेशनमा जानुपर्नेमा जोड दिए। उनले भने, "हाम्रो अहिले पार्टीको मूल उद्देश्य पार्टी एकता कायम गर्ने हो। विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरूलाई एउटै महाधिवेशनमा १५ औँ महाधिवेशनमा लैजाने हो र त्यो लैजानका लागि नमिल्ने कुरा हटाउने हो, मिल्ने कुरालाई सहमति गरेर लिएर जाने हो।"
 

वैशाख १५, २०८३ मंगलबार १५:४०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।