सुकुम्बासीको लगत संकलनको निर्णय भएको छैन, सेनाले किन विवरण माग्यो थाहा भएन : प्रजिअ हमाल

सुकुम्बासीको लगत संकलनको निर्णय भएको छैन, सेनाले किन विवरण माग्यो थाहा भएन : प्रजिअ हमाल

बर्दिया : नेपाली सेनाले बर्दियाका स्थानीय तहहरूसँग सुकुम्बासी बस्तीको विवरण माग गरेको विषयमा जिल्ला प्रशासन कार्यालयले अनभिज्ञता प्रकट गरेको छ।

जिल्ला सुरक्षा समितिको कुनै निर्णय र बैठकबिना नै सेनाले विवरण मागेको भन्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन बहादुर हमालले अनभिज्ञता प्रकट गरेका हुन्।

जिल्लाको शान्ति-सुरक्षा र समन्वयको नेतृत्व गर्ने सुरक्षा समितिको संयोजक प्रजिअ रहने व्यवस्था छ। तर, प्रजिअ हमालले सेनाले विवरण मागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए।

उनले भने, ‘जिल्ला सुरक्षा समितिको कुनै बैठक बसेको छैन। सेनाले सुकुम्बासीको लगत सङ्कलन गर्ने कुनै निर्णय भएको छैन। उनीहरूले किन विवरण मागे, मलाई थाहा भएन।’

जिल्लामा सेनाको खटनपटको अधिकार प्रमुख जिल्ला अधिकारीको हुन्छ। यसअघि नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले देशभरका जिल्ला-जिल्लामा विवरण सङ्कलन भइरहेको बताएका थिए।

नेपाली सेनाको बज्रदल गणले वैशाख १२ गते बर्दियाका आठवटै पालिकालाई पत्र लेख्दै काठमाडौंंको सुकुम्बासी बस्ती हटाउने कार्यलाई सन्दर्भको रूपमा उल्लेख गरी विवरण मागेको थियो। सेनाले सुकुम्बासीको स्थान, घरधुरी सङ्ख्या र सम्पर्क नम्बरसमेत माग गरेको थियो।

काठमाडौंमा सुकुम्बासी बस्ती भत्काउँदा सुरक्षा ‘ब्याकअप’मा देखिएको सेनाको यो पछिल्लो सक्रियताले केन्द्र र जिल्ला तहको समन्वयमा समेत प्रश्न उठाएको छ।

यो पनि:

वैशाख १५, २०८३ मंगलबार १४:५९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।