सर्वोच्चले माग्यो व्यवसायी गोल्छालाई थुनामा राख्नुको कारण, २४ घण्टाभित्र उपस्थित गराउन आदेश
काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंलाई सो आदेश गरेको हो।
व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गरेकी थिइन्। सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो।
आदेशमा रिट निवेदनको एक/एकप्रति नक्कल समेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन भनिएको छ।
वैशाख १५, २०८३ मंगलबार १४:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।