थापाथलीको बस्ती भत्काउँदा ‘सुरक्षा ब्याकअप’ दिएको सेनाले थाल्यो देशभरका सुकुमबासीको लगत संकलन

थापाथलीको बस्ती भत्काउँदा ‘सुरक्षा ब्याकअप’ दिएको सेनाले थाल्यो देशभरका सुकुमबासीको लगत संकलन

काठमाडौं : काठमाडौंको थापाथली क्षेत्रका सुकुम्बासी बस्ती भत्काउँदा ‘सुरक्षा ब्याकअप’मा देखिएको नेपाली सेनाले देशभरका सुकुम्बासी बस्तीको विवरण सङ्कलन सुरु गरेको छ।

सरकारले सुकुम्बासी बस्ती खाली गराउने अभियानलाई तीव्रता दिएसँगै सेनाले जिल्लागत रूपमा यस्ता विवरणहरू माग गर्न थालेको हो।

कतिपय जिल्लामा सेनाले सिधै पालिकाहरूलाई पत्र पठाएर विवरण मागेको छ भने कतिपय ठाउँमा भूमि समस्या समाधान आयोगलाई पत्र लेखेको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सुकुम्बासीको लगत संकलन भइरहेको पुष्टि गरेका छन्।

उकेरासँगको कुराकानीमा उनले भने, ‘जिल्ला सुरक्षा समितिको बैठकमा संलग्न सबै निकायले सुकुम्बासीको लगत सङ्कलन गर्ने र सङ्कलन भइसकेपछि ट्याली गरी भेरिफाई गर्ने भएकाले नेपाली सेनाले पनि देशभर जिल्ला-जिल्लामा विवरण सङ्कलन गरिरहेको हो। अरू त्यस्तो केही होइन। म गणपति भइसकेको मान्छे हुँ, यसअघि पनि हामीले यस्तो विवरण र लगत सङ्कलन गर्ने गरेका थियौँ।’

यता, जिल्ला सुरक्षा समिति बर्दियाका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्ला सुरक्षा समितिको बैठक नबसेको भन्दै सेनाले लगत संकलन गरेको बारेमा थाहा नभएको बताए।

उनले भने, ‘जिल्ला सुरक्षा समितिको कुनै बैठक बसेको छैन। सेनाले सुकुम्बासीको लगत संकलन गर्ने निर्णय भएको छैन। उनीहरूले किन मागे मलाई थाहा भएन।’

विवरण सङ्कलनकै क्रममा वैशाख १२ गते बज्रदल गण अन्तर्गत बाँकेको ईमामानगर ब्यारेकले बर्दिया जिल्लाका सबै पालिकाहरूलाई पत्र काटेर सुकुम्बासीको अद्यावधिक विवरण माग गरेको छ।

त्यस्तै, पशुपति प्रसाद गण अन्तर्गत उदयपुरको पिपलटार ब्यारेकले जिल्लाको भूमि समस्या समाधान आयोगलाई पत्र लेख्दै यथाशीघ्र विवरण उपलब्ध गराउन भनेको छ। प्रवक्ता बस्नेतका अनुसार अन्य गणहरूले पनि आ-आफ्नो क्षेत्रमा विवरण सङ्कलन थालेका छन्।

थापाथलीमा सेनाको ‘सुरक्षा ब्याकअप’
गत शनिबार प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा थापाथली र मनोहरा क्षेत्रका बस्ती भत्काउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पछाडि सेनाको टोली समेत देखिएको थियो।

यद्यपि, त्यतिबेला सैनिक सूचना अधिकारीले सेना खटिएको कुरालाई ‘संयोग’ मात्र भएको दाबी गरेका थिए। तर, हतियार र सैनिक सवारीसहित थापाथली र शान्तिनगर क्षेत्रमा सेना बकाइदा ‘पोजिसन’मा देखिएको भिडियो र तस्बिरहरूले सेना सुरक्षा ब्याकअपमा रहेको पुष्टि गरेका थिए।

त्यतिबेला सुकुम्बासी बस्तीको सम्भावित प्रतिरोधलाई ध्यानमा राख्दै ठूलो सङ्ख्यामा जनपद र दङ्गा नियन्त्रण प्रहरी खटिएका थिए। सुरक्षा घेरा कडा भएकै कारण बस्तीभित्र सातवटा डोजर चलाउँदा समेत सुकुम्बासीहरूले विरोध गर्ने हिम्मत गर्न सकेनन्।

यसअघि २०८२ भदौ २४ को जेनजी आन्दोलनका क्रममा सेना १० घण्टा ढिलो मात्र परिचालित भएको थियो।

त्यतिबेला सेनाले संवैधानिक व्यवस्था र सुरक्षा परिषद्को निर्णयबिना परिचालित हुन नसक्ने तर्क गर्दै आफ्नो बचाउ गरेको थियो। भदौ २३ र २४ गते काठमाडौंं प्रशासनले लिखित रूपमा सहयोग माग्दा समेत सेना सडकमा आउन ढिलाइ भएको भन्दै प्रश्न उठेको थियो।

तर, अहिले सुकुम्बासी बस्ती भत्काउने कार्यमा भने सेना सुरुदेखि नै ब्याकअपमा मात्र देखिएको छैन, बरु देशभरको लगत सङ्कलनमा समेत आफैँ अग्रसर भएको छ।

सरकारले शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार वास्तविक सुकुम्बासीलाई जग्गा दिने र सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई हटाउने रणनीति लिएपछि सेना सक्रिय भएको हो।

वैशाख १५, २०८३ मंगलबार १४:१०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।