बर्दियामा पनि सुकुम्बासी बस्ती हटाइने, निकुञ्ज नजोडिएको पालिकाको विवरण पनि मागेको थियो सेनाले

बर्दियामा पनि सुकुम्बासी बस्ती हटाइने, निकुञ्ज नजोडिएको पालिकाको विवरण पनि मागेको थियो सेनाले

काठमाडौं : काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै बर्दियामा पनि सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण सङ्कलन तीव्र पारिएको छ।

नेपाली सेनाको बज्रदल गण, इमाम नगर ब्यारेक (बाँके)ले बर्दिया जिल्लाका सबै ८ वटा स्थानीय तहलाई पत्र लेख्दै सुकुम्बासी बस्तीको अद्यावधिक विवरण माग गरेको खुलेको छ।

सेनाले वैशाख १२ गते पालिकाहरूलाई पठाएको पत्रमा वैशाख १२ र १३ गते काठमाडौं उपत्यकाभित्रका नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासी बस्ती हटाउन सुरु गरिएको सन्दर्भ पनि उल्लेख गरिएको छ।

सोही क्रममा बर्दियामा रहेका अव्यवस्थित बस्तीको स्थान, बसेको मिति, घरधुरी सङ्ख्या र बस्तीका पदाधिकारीको सम्पर्क नम्बर वैशाख १४ गतेभित्रै उपलब्ध गराउन सेनाले आग्रह गरेको थियो।

सेनाले बर्दियाका ६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी आठवटा स्थानीय तहलाई पत्र पठाएको हो। पत्र पाउनेमा गुलरिया, बारबर्दिया, बाँसगढी, ठाकुरबाबा, मधुवन र राजापुर नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिका रहेका छन्।

बर्दिया जिल्लाको ठूलो हिस्सा ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज र यसको ५०७ वर्ग किलोमिटरको मध्यवर्ती क्षेत्रले ओगटेको छ।

जिल्लाका ८ पालिकामध्ये ठाकुरबाबा, मधुवन, बारबर्दिया, बाँसगढी, गेरुवा र राजापुर प्रत्यक्ष रूपमा निकुञ्ज वा मध्यवर्ती क्षेत्रसँग जोडिएका छन्। निकुञ्ज वा मध्यवर्ती क्षेत्रको सुरक्षााको जिम्मा कानुनले नेपाली सेनालाई दिएको छ।

निकुञ्जको सिमाना चुरे पहाड र कर्णाली तथा बबई जस्ता ठूला नदीले निर्धारण गरेको हुनाले यी क्षेत्रमा वन र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सुकुम्बासी बस्तीको सही व्यवस्थापन आवश्यक मानिन्छ।

यद्यपि, सेनाले निकुञ्जसँग प्रत्यक्ष नजोडिएका गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकासँग पनि विवरण मागेको थियो।

वैशाख १५, २०८३ मंगलबार १३:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।