अटोमोबाइल वस्तुमा एमआरपी स्टिकर टाँस्ने व्यवस्थाबारे नाडा र भन्सार महानिर्देशकबीच छलफल

अटोमोबाइल वस्तुमा एमआरपी स्टिकर टाँस्ने व्यवस्थाबारे नाडा र भन्सार महानिर्देशकबीच छलफल

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग भेट गरी अटोमोबाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य सूचीसहितको स्टिकर टाँस्ने व्यवस्थाबारे छलफल गरेको छ।

छलफलका क्रममा नाडाका प्रतिनिधिहरूले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनमा एमआरपी स्टिकर टाँस्न समस्या नभए पनि एउटै बक्सभित्र सयौंको सङ्ख्यामा आउने ‘स्पेयर पार्ट्स’ को हकमा यो व्यवस्था व्यावहारिक नभएको बताए।

भन्सारमा ‘बण्डेड वेयरहाउस’को अभावमा भन्सार यार्डभित्रै स्टिकर टाँस्नुपर्ने बाध्यता चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ थियो।

महानिर्देशक भण्डारीले सबै किसिमका अटोमोबाइल वस्तुमा स्टिकर टाँस्ने व्यवस्था कार्यान्वयनमा केही चुनौती रहेको स्वीकार गर्दै विभागले व्यापार सहजीकरण र राजस्व वृद्धिमा ध्यान दिइरहेको बताए।

भेटका क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले वीरगञ्ज भन्सार कार्यालयले सवारीसाधन जाँचपासका लागि जारी गरेको पछिल्लो सूचनाबारे जिज्ञासा राख्दै व्यवसायीहरूलाई तोकिएकै समयमा जाँचपासका लागि सहजीकरण गरिदिन आग्रह गरे।

महानिर्देशक भण्डारीले सो सूचना कानुनसम्मत भएकाले जाँचपास प्रक्रियामा सहयोग गर्ने आश्वासन दिए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०८२ चैत ३० गते जारी गरेको निर्देशनअनुसार विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुमा अनिवार्य एमआरपी उल्लेख हुनुपर्ने र बिक्री गर्दा अनिवार्य बिल बिजक जारी गर्नुपर्ने व्यवस्था छ।

छलफलमा नाडाका उपाध्यक्षद्वय भद्र भण्डारी र अभिक ज्योति लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

वैशाख १५, २०८३ मंगलबार १२:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।