काठमाडौंमा महिलाको सिक्री लुट्ने ५ जनाको गिरोह पक्राउ, चार जना नुवाकोटका

काठमाडौंमा महिलाको सिक्री लुट्ने ५ जनाको गिरोह पक्राउ, चार जना नुवाकोटका

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने ५ जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई लुटपाटमा प्रयोग हुने हतियार र सामग्रीसहित सोमबार सार्वजनिक गरेको हो।

तारकेश्वर नगरपालिका-४, पैँयुटारबाट पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ र २१ वर्षीय सुजन तामाङ रहेका छन्।

त्यसैगरी, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुकी १९ वर्षीया रितिका माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, यो गिरोहले गत चैत १२, १९ र वैशाख ६ गते उपत्यकाका विभिन्न ठाउँमा पुगेर सुन लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले अभियुक्तहरूको साथबाट १२.९० ग्राम सुन, एक थान खुकुरी, पेचकस, साना-ठूला रेन्ची ९ थान र एक थान मोबाइल बरामद गरेको छ।

साथै, लुटपाटमा संलग्न हुँदा उनीहरूले प्रयोग गरेका हुडी, ज्याकेट र ट्राउजरलगायतका कपडा पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेको उक्त गिरोहमाथि हाल प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।

वैशाख १५, २०८३ मंगलबार ०७:३६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।