'कांग्रेसमा प्रतिस्पर्धा सजिलो, सर्वसम्मत गाह्रो'

'कांग्रेसमा प्रतिस्पर्धा सजिलो, सर्वसम्मत गाह्रो'

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय दलको नेतामा सर्वसम्मत चयनको प्रयास भएकाले केही समय लागेको बताएका छन्। 

सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग थापाले संसदीय नेता चयनको प्रक्रियामा समय बढी लागेकोमा टीकाटिप्पणी हुनु स्वाभाविक रहेको बताए। कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्।

उनले निर्वाचनको प्रक्रियाबाट नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भएता पनि बहुसंख्यक सांसदहरूको चाहना सर्वसम्मत रूपमा चयन हुनुपर्ने रहेकाले ढिला भएको बताए। कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो तर सर्वसम्मत गराउन गाह्रो रहेको उनको भनाइ थियो। ढिलो भए पनि भित्रभित्रै परिपक्व बनाएको उनको धारणा छ। 

थापाले भने, "चयनको प्रक्रियामा समय अलि बढी लागेकाले स्वाभाविक रूपमा टीकाटिप्पणी धेरै भए। निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो। तर यो पटक बहुसंख्यक सांसदहरूको चाहना सर्वसम्मत रूपमा होस् भन्ने थियो। कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गाह्रो छ। ढिला भए पनि परिपक्व बनाइरहेका थियौं।"

त्यस्तै विगतमा पार्टी र संसदबीचको एउटा समन्वय कम भएको उल्लेख गर्दै नेता आङ्देम्बेले अब पार्टी र संसदबीचको समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जाने प्रतिबद्धता जनाए। उनले संसदीय दलको अन्य पदाधिकारीहरूको टुंगो २४ घण्टाभित्रै टुंगो लाग्ने जानकारी दिए।

"हिजो पार्टी र संसदबीचको एउटा समन्वयात्मक बिर्सिएको जस्तो अवस्था थियो। तर आज त्यो खोजेर अगाडि बढ्नै पर्ने आवश्यक छ। पार्टी र संसदबीचको एउटा समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जान्छौं," उनले भने। 

वैशाख १४, २०८३ सोमबार १७:३३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।