के त्रिवि क्रिकेट मैदान भत्किँदैछ ?
काठमाडौं : सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान नभत्काइने जनाएको छ। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीच नयाँ सम्झौता हुने भएकाले मैदान भत्किने वा खाली हुने अवस्था नरहेको स्पष्ट पारे।
सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले कीर्तिपुर रङ्गशालाका विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग सकारात्मक छलफल भएको जानकारी दिए। विश्वविद्यालयले आफ्नो जग्गामा रहेका संरचना खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेपछि अन्यौलता उत्पन्न भएको थियो।
“आज मेरो त्रिविका उपकुलपतिलगायत पदाधिकारीहरूसँग कुरा भएको छ। खाली गराउने नै चाहिँ हाम्रो उद्देश्य होइन। त्यो लिजमा लिइएको जग्गा भएकोले नवीकरण गराउनुपर्नेछ। यसको बारेमा सकारात्मक कुरा नै भयो,” उनले भने, “राज्यको धेरै लगानी भएको छ। दुवै राज्यकै निकायहरू हुन्। त्यसैले भत्काउने कुरा हुँदैन। नवीकरण गरेर लिजमा चाहिँ दिनुपर्छ।”
त्रिवि र क्यानबीच भएको २५ वर्षे लिज सम्झौता यही वैशाख मसान्तमा सकिँदै छ। त्रिवि कार्यकारी परिषद्को निर्णयानुसार वैशाख ४ गते सार्वजनिक सूचना जारी गरेर विश्वविद्यालयले भोगाधिकारका लागि उपलब्ध गराइएका जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न भनिएको थियो। सोही परिप्रेक्ष्यमा क्यानको चैत २३ गतेकै बोर्ड बैठकले पनि मैदानको करार सम्झौता थपका लागि राष्ट्रिय खेलकुद परिषद्मार्फत सरकारसँग अनुरोध गर्ने निर्णय गरिसकेको छ।
त्रिवि क्रिकेट मैदानलाई सरकारले पछिल्लो समय उच्च प्राथमिकतामा राखेको छ। गत वर्ष मात्र सहरी विकास मन्त्रालयले करिब ९० करोड रुपैयाँको लागतमा प्यारापिट निर्माण र फ्लड लाइट जडान लगायतका पूर्वाधार विकास गरेको थियो। नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको मैदानको संवेदनशीलतालाई ध्यान दिँदै नयाँ स्वरूपमा लिज सम्झौता गरी अघि बढ्ने मन्त्री पोखरेलको भनाइ छ।
वैशाख १४, २०८३ सोमबार १७:१६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।