संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने तयारीप्रति कांग्रेसको आपत्ति : 'यो मर्यादित कदम होइन'
ललितपुर : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पार्टी सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग उनले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको र त्यस्तो कार्यमा पार्टीको असहमति रहने बताए।
“एकातिर अधिवेशन बोलाइसकेपछि स्थगित गरिएको छ, अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा चलिरहेको छ, त्यसो गर्नु मर्यादित कदम होइन। जनप्रतिनिधिको थलो संसद्बाटै पारदर्शी रूपमा आवश्यक कानुन ल्याउनुपर्छ,” प्रवक्ता चालिसेले भने।
चालिसेले पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धि भएको अवस्थामा सहुलियत दिने तथा गत भदौ २३ र २४ को जेनजी आन्दोलनका घटनामा भएको क्षतिको अनुसन्धान गर्नेतर्फ सरकारले कुनै चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
वैशाख १४, २०८३ सोमबार १६:०३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।