शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता, पूर्वाधार र डिजिटल शिक्षामा सहकार्य गर्ने छलफल

शिक्षामन्त्री पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता, पूर्वाधार र डिजिटल शिक्षामा सहकार्य गर्ने छलफल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा, विज्ञान, प्रविधि र खेलकुद क्षेत्रमा चीन सरकारको सहयोग तथा सहकार्यका विषयमा छलफल भएको हो।

भेटका क्रममा मन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास र पठनपाठनमा डिजिटल प्रणालीको संस्थागत विकासका लागि चीनसँग साझेदारी वृद्धि गर्न नेपाल सरकार इच्छुक रहेको बताएका थिए। 

त्यसैगरी, मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालित चिनियाँ परियोजनाहरू चाँडो सम्पन्न गर्न र नेपाली युवाहरूको रुचिअनुसार चीन सरकारबाट प्राप्त हुने छात्रवृत्ति प्रवर्द्धन गर्ने विषयमा राजदूतको ध्यानाकर्षण गराएका थिए।

जवाफमा चिनियाँ राजदूत माओमिङले नेपाल सरकारका तर्फबाट राखिएका विषयहरूमा साझेदारी र सहकार्य गर्न चीन इच्छुक रहेको बताएका थिए। 

दुई देशबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध र आपसी हितमा केन्द्रित रहेको उक्त भेटमा नेपाल-चीन बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर अघि बढ्ने समझदारी भएको मन्त्रालयले जनाएको छ।

वैशाख १४, २०८३ सोमबार १२:४५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।