चितवनमा बसको ठक्करबाट तरकारी बोक्ने रिक्सा चालकको मृत्यु

चितवनमा बसको ठक्करबाट तरकारी बोक्ने रिक्सा चालकको मृत्यु

चितवन : चितवनको रत्ननगर नगरपालिका-३, शान्तिचोकस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुबाहक बसले तरकारी बोक्ने रिक्सालाई ठक्कर दिँदा रिक्सा चालकको मृत्यु भएको छ।

सोमबार बिहान अन्दाजी ४:३० बजेतिर झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-१०-००१ ख ३९०१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको रिक्सालाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका रिक्सा चालकलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको थियो। तर, चिकित्सकले परीक्षण गर्दा बिहान ५ बजेर ५ मिनेटमा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

सुरुमा नामथर नखुलेका मृतकको पछि सनाखत भएको छ। मृतक पर्साको जिराभवानी गाउँपालिका-२ घर भई हाल चितवनको खैरहनी नगरपालिका-१ मा डेरा गरी बस्ने ४३ वर्षीय किसुन महतो थारु रहेका छन्। मृतककी दिदी नाता पर्ने लक्ष्मी दराईले उनको सनाखत गरेको प्रहरीले जनाएको छ।

घटनालगत्तै शान्तिचोक प्रहरी बिट र इलाका प्रहरी कार्यालय (टाँडी) बाट खटिएको प्रहरी टोलीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१ बस्ने २६ वर्षीय बस चालक श्यामकुमार राम रहेका छन्। 

हाल चालक र बस जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैशाख १४, २०८३ सोमबार १०:१९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।