बाजुरामा स्काभेटर दुर्घटना हुँदा बेपत्ता १८ वर्षीय रावल मृत फेला
बाजुरा : बाजुरा र कालिकोटको सीमानामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षीय महेश रावल मृत फेला परेका छन्। बाजुराको जगन्नाथ गाउँपालिका-६, रावलवाडाका रावल दुर्घटनापछि बेपत्ता थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, कालिकोटको नरहरिनाथ गाउँपालिका-२ का २५ वर्षीय केशव विष्टले चलाएको प्रदेश ३-०१-००३ क ६३११ नम्बरको स्काभेटर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनाको समयमा स्काभेटरमा चालकसहित तीन जना सवार थिए। चालक र अन्य एक जना सकुशल रहे पनि रावल भने बेपत्ता भएका थिए।
खोजी गर्ने क्रममा स्काभेटर खसेको स्थानभन्दा करिब तीन सय मिटर तल उनको शव फेला परेको बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।
लौखु जिरो पोइन्ट-कोल्टी खण्डमा नयाँ सडक खन्दा निस्किएको माटोले कर्णाली करिडोर अवरुद्ध भएपछि उक्त माटो पन्छाउन जाने क्रममा स्काभेटर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीले स्काभेटर चालक विष्टलाई अस्थायी प्रहरी पोस्ट साजघाँट (कालिकोट) बाट नियन्त्रणमा लिएको छ। मृतक रावलको शव पोस्टमार्टमका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ भने अवरुद्ध सडकको माटो पन्छाएर यातायात सुचारु गरिएको छ।
वैशाख १४, २०८३ सोमबार ०८:१४:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।