बाजुरामा बाटो खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।
सडक निर्माणका क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरीनाथ गाउँपालिका-२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन्।
सडकका लागि बाटो खन्ने क्रममा स्काभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।
उक्त दुर्घटनामा चालक र सहचालक सकुशल रहेको बताउँदै उनले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित नेपाली सेनाको समन्वयमा खोजी कार्य भइरहेको उल्लेख गरे।
बाजुरा र कालीकोटको सिमाना रहेको लैफुडाँडामा स्काभेटर(डोजर)ले सडकका लागि बाटो खन्ने क्रममा दुर्घटना भएको हो।
वैशाख १३, २०८३ आइतबार १८:०५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।