बन्दुकको घेरामा डोजर, सुरक्षाकर्मीको दबाबमा सुकुमबासी क्षेत्रमा बनाइएको ‘मुर्दा शान्ती’
काठमाडौं : काठमाडौं उपत्यकाका नदी किनारका संरचना हटाउन शनिवारदेखि सुरु भएको अभियानलाई सरकार र सुरक्षा संयन्त्रले 'शान्तिपूर्ण' दाबी गरिरहेका छन्। तर, शनिवार थापाथलीसहितका क्षेत्र र आइतबार मनोहरा किनारमा देखिएको दृश्यले 'शान्तिपूर्ण' को सरकारी दाबीमाथि नै प्रश्न उठाएको छ।
यस अगाडिका यस्तो प्रयासमा अतिक्रमित क्षेत्रमा प्रतिरोध हुन्थ्यो। यस छिटपुट बाहेक प्रतिरोध भएन। यसैलाई देखाएर सरकारी पक्ष यो अभियान निकै शान्तिपूर्ण रूपमा भएको दाबी गरिरहेको छ। अवस्था हेर्दा भौतिक रूपमा प्रतिरोध त भएन। तर मानसिक रूपमा राज्यले गरेको हिंसा भने प्रस्ट देखिएको थियो।
घटनास्थलको वस्तुस्थिति हेर्दा यो कुनै सामान्य प्रशासनिक काम नभई युद्धग्रस्त क्षेत्रमा अपनाइने सैन्य रणनीति झैँ देखिन्थ्यो। पहिला चारैतिर सुरक्षाकर्मीले घेरा हाल्ने अनि डोजर छिराएर मानसिक रूपमै कमजोर बनाउने सरकारी रणनीति प्रस्ट देखियो।
कुनै पनि कार्यलाई शान्तिपूर्ण तब मानिन्छ, जब त्यहाँ दुवै पक्षको आपसी सहमति वा कानुनी प्रक्रियाको सहज स्वीकारोक्ति हुन्छ। तर, काठमाडौंको नदी किनारमा देखिएको दृश्य संवादको नभई शक्तिको प्रदर्शन थियो।
मनोवैज्ञानिक त्रास बढाउन कसिएको सुरक्षा घेरा
सरकारले संरचना भत्काउनुअघि सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मीको यति बाक्लो उपस्थिति गरायो कि, त्यहाँ बसोबास गर्नेहरूले प्रतिरोध गर्ने कल्पनासम्म गर्न सकेनन्। थापाथली र मनोहरा दुवै क्षेत्रमा अपनाइएको रणनीति समान देखिन्छ-पहिले चारैतिरबाट घेरा हाल्ने, बाहिर निस्कन दिने तर भित्रिन नदिने, र त्यसपछि डोजर छिराउने।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी केवल भिड नियन्त्रणका लागि मात्र थिएन, बरु त्यो स्थानीयलाई मानसिक रूपमै कमजोर बनाउने 'मनोवैज्ञानिक अस्त्र' जस्तो देखिन्थ्यो। हेलमेट, ढाला र पूर्ण गियरसहित खटिएका दंगा नियन्त्रण टोलीले सो क्षेत्रलाई कुनै 'युद्धभूमि' मा परिणत गरेको आभास हुन्थ्यो। त्यसमा ब्याकअपमा सेना पनि देखिएको थियो नै।
यी दृश्यले अवैध संरचना खाली गराउन राज्यले आफूसँग भएका सबै सुरक्षा संयन्त्र लगेर मानसिक बल प्रयोग गरेको प्रस्ट देखियो। त्यसमा राष्ट्रिय सेना समेत अछुतो रहन सकेन।
प्रतिरोध गर्ने ठाउँ नै नराखी गरिएको 'शान्ति'
शनिवार बेलुका मनोहरा क्षेत्रमा संरचना भत्काउने प्रयास गर्दा स्थानीयले प्रतिकार गरेपछि डोजरसहित सुरक्षाकर्मी पछि हट्नु परेको थियो। तर, आइतबार बिहानै राज्यले थप जनशक्ति र पूर्व तयारीका साथ 'काउन्टर' रणनीति अपनायो।
थापाथलीको तुलनामा मनोहरामा सुरक्षाकर्मीको संख्या र सतर्कता अझ बढी देखिनुले राज्य कुनै पनि हालतमा पछि हट्ने मुडमा थिएन भन्ने प्रस्ट पार्छ।
जब चारैतिरबाट अत्याधुनिक सुरक्षा उपकरणसहितका सुरक्षाकर्मीले घेरा हाल्छन्, तब निहत्था नागरिकसँग प्रतिरोधको कुनै विकल्प बाँकी रहँदैन। यसरी नै उत्पन्न भएको भयको 'मौनता' लाई सरकारले भने 'शान्तिपूर्ण' सफलताको दाबी गरिरहेका छन्।
टहरा भर्सेस भौतिक संरचना
थापाथली क्षेत्रमा अधिकांश कच्ची टहराहरू थिए, जसलाई हटाउन राज्यका लागि प्राविधिक रूपमा सहज थियो। तर, आइतबार डोजर चलेको मनोहरा क्षेत्रमा भने धेरैजसो पक्की र स्थायी प्रकृतिका भौतिक संरचनाहरू बनेका थिए। यी संरचनाहरू भत्काउँदा हुनसक्ने ठुलो आक्रोशलाई दबाउनकै लागि सुरक्षा संयन्त्रले 'घेराउ र दमन' को रणनीतिलाई तीव्रता दिएको देखिन्छ।
वैशाख १३, २०८३ आइतबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।