तेन्जिङ छिरिङलाई कार्लसबर्ग गल्फ क्लासिकको उपाधि

तेन्जिङ छिरिङलाई कार्लसबर्ग गल्फ क्लासिकको उपाधि

काठमाडौं : गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न ‘कार्लसबर्ग गल्फ क्लासिक २०२६ (गोकर्ण संस्करण)’को मुख्य उपाधि तेन्जिङ छिरिङले जितेका छन्। शून्य ह्यान्डीक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन्।

उपाधिसँगै उनले मलेसियामा गल्फ भ्रमण र गल्फ सामग्री लगायतका पुरस्कार प्राप्त गरे। ३७ अंक जोडेका सन्योग शाही काउन्टब्याकका आधारमा उपविजेता बने। यस्तै, तासी छिरिङले ३९ ग्रस अंकसहित 'बेस्ट ग्रस' र ५ बर्डी प्रहार गर्दै 'मोस्ट बर्डीज' को दुवै उपाधि जिते।

महिलातर्फ सुष्मा सिंह ३८ अंकसहित विजयी भइन्। उनले पनि पुरुष विजेता सरह मलेसिया भ्रमणको पुरस्कार प्राप्त गरिन्। सोही विधामा ३३ अंकसहित तारा कार्की चित्रकार उपविजेता भइन्। ६० वर्ष माथिको सिनियरतर्फ ३६ अंक जोड्दै बाबु शेर्पा विजेता बने।

प्रतियोगितामा अन्यतर्फ शंकर मान रोक्काले ‘क्लोजेस्ट टु द पिन’ र डार्टानिएन गेर्केले ‘लङगेस्ट ड्राइभ’को पुरस्कार जिते। गोरखा ब्रुअरीको प्रायोजनमा भएको प्रतियोगितामा कुल १११ खेलाडीको सहभाागिता थियो। विजेताहरूलाई गोरखा ब्रुअरीका पदाधिकारीहरू र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे तथा क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

वैशाख १३, २०८३ आइतबार १४:३३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।