सुकुम्बासी बस्ती हटाउन मनोहरा पुग्यो डोजर, सुरक्षा व्यवस्था कडा

सुकुम्बासी बस्ती हटाउन मनोहरा पुग्यो डोजर, सुरक्षा व्यवस्था कडा
फाइल तस्बिर

काठमाडौं : भक्तपुरको मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्ती हटाउन आइतबार बिहानैदेखि डोजरसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। 

कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत संरचनाहरू हटाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

यसअघि शनिबार साँझ पनि उक्त बस्ती खाली गराउने प्रयास भएको थियो। तर, स्थानीयको अवरोध र ढुंगामुढाका कारण बस्ती हटाउन पुगेको टोली फिर्ता भएको थियो। शनिबारको तनावपूर्ण स्थितिपछि आइतबार बिहानैदेखि कडा सुरक्षा व्यवस्थाका बीच बस्ती हटाउने प्रक्रिया पुनः सुरु गरिएको छ।

सरकारले शनिबार काठमाडौंको थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्तीहरू खाली गराइसकेको छ।

बस्ती हटाउन डोजर पुगेपछि केही स्थानीय बासिन्दाहरूले भने आफ्ना सरसामान आफैँ सुरक्षित स्थानमा सार्न सुरु गरेका छन्। झडपको सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति छ।

वैशाख १३, २०८३ आइतबार ०९:२३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।