सुकुम्वासी बस्ती हटाउन डोजर पुग्दा मनोहरामा तनाव
काठमाडौं : मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउन पुगेको डोजर र सुरक्षाकर्मीमाथि शनिबार साँझ ढुंगामुढा प्रहार भएको छ।
शनिबार बिहानैदेखि नदी किनारका बस्तीमा बनेका संरचना हटाउँदै आएको टोली साँझ मनोहरा क्षेत्रमा पुगेको थियो। स्थानीयको अवरोधपछि अहिले संरचना भत्काउन पुगेको टोली फर्किएको छ। स्थानीयले आजका लागि काम रोक्न आग्रह गरेका थिए।
भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार मनोहरामा भएको अवरोधपछि रोकिएको र बाँकी रहेका अनधिकृत संरचना भत्काउने कार्य आइतबार बिहान पुनः सुरु गरिने छ। ढुंगामुढा प्रहार हुँदा केही सुरक्षाकर्मी घाइते भएको बताइएको छ।
संरचना भत्काउन डोजरसहितको टोली मनोहरामा पुगेपछि सुकुम्वासीहरू भेला भई नाराबाजी र प्रदर्शन गर्दा केही समय तनावपूर्ण बनेको थियो। बेलुकी भएपछि सुरक्षाकर्मीहरू सो क्षेत्रबाट पछि हटेका छन्।
यसअघि शनिबारै काठमाडौंका थापाथली र सिनामंगल क्षेत्रमा रहेका सुकुम्वासी बस्तीमा संरचना हटाउने कार्य भने शान्तिपूर्ण रूपमा अघि बढाइएको थियो।
वैशाख १२, २०८३ शनिबार २०:२३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।