प्रधानाध्यापकलाई हप्काएका रास्वपा सांसद पोखरेलले आलोचना भएपछि मागे माफी, कार्यशैली सुधार्ने वाचा
काठमाडौं : गृह जिल्ला ओखलढुङ्गाको एक विद्यालयका प्रधानाध्यापकसँग अपमानजनक व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि आलोचित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलले माफी मागेका छन्।
बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर उनले उक्त घटनाप्रति खेद प्रकट गर्दै आफ्नो व्यवहारले आत्मसम्मानमा चोट पर्न गएकोमा माफी मागेका हुन्। पोखरेलले विज्ञप्ति मार्फत आगामी दिनमा आफ्नो कार्यशैलीमा थप सुधार गर्ने र जनताको सेवामा प्रतिबद्ध रहने वाचा समेत गरे।
तर, सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण वास्तविकता नदेखाएको उनको दाबी छ। विज्ञप्तिमा भनिएको छ, "यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काँटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ।"
यद्यपि, सार्वजनिक पदमा रहेको व्यक्तिका हिसाबले आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको उनले स्वीकारे। उनले सार्वजनिक पदको मर्यादा र उत्तरदायित्वलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने बताएका छन्।
उनले भनेका छन्, "सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्दछु। यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो। त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमा याचना गर्दछु।"
के थियो घटना ?
सङ्घीय संसद्को बैठक स्थगित भएको समयमा गत वैशाख ९ गते सांसद पोखरेल आफ्नो गृह जिल्ला ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-२, रागनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय पुगेका थिए। सोहीक्रममा आफ्नो स्वागतमा गेटमा नआएको भन्दै उनले प्रधानाध्यापकलाई सार्वजनिक रूपमै हप्काएका थिए।
भिडियोमा उनले प्रधानाध्यापकलाई भनेका छन्, "म आउँदै छु भन्दा तपाईं निस्किनु पर्छ। तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?"
उनको हाकिमी शैलीको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो। पोखरेलको व्यवहारलाई लिएर रास्वपा भित्रै र बाहिरबाट कडा टिप्पणीहरू आएका थिए।
सांसद पोखरेलले अहिले विद्यालयमा देखाएको व्यवहारलाई धेरैले उनको प्रहरी कार्यकालको हाकिमी प्रवृत्तिको निरन्तरताका रूपमा हेरेका छन्। प्रहरी नेतृत्वमा रहँदा पनि उनीमाथि पदको दुरुपयोग गरेको आरोप लाग्ने गरेको थियो।
करिब आठ वर्षअघि व्यवसायी अनिल विश्वकर्मा (गजमेर)लाई बिना अपराध डेढ वर्षसम्म जेल पठाएको घटनामा पनि तत्कालीन एसएसपी रहेका पोखरेलको भूमिका विवादित बनेको थियो। त्यो मुद्दामा पोखरेलले आफूमाथि प्रतिशोध साँधेको गजमेरको आरोप छ। अहिलेको घटनाले सांसदको पदीय मर्यादा र नागरिकप्रतिको जवाफदेहितामाथि पुनः प्रश्न उठाएको छ।

वैशाख १२, २०८३ शनिबार १६:५०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।