ऊर्जामन्त्री श्रेष्ठसँग चीन र भारतका राजदूतको छुट्टाछुट्टै भेट, ऊर्जा र जलस्रोतमा सहकार्यको प्रतिबद्धता
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।
मन्त्रालयमा भएको उक्त भेटका क्रममा नेपालको ऊर्जा क्षेत्रको विकास र द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
चिनियाँ राजदूतसँगको भेटमा नेपाल र चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ।
विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीलाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै पक्षबीच विचारविमर्श भएको थियो।
साथै ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यको प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, भारतका राजदूतसँगको भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा नेपाल–भारतबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ गर्दै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार एवं प्रवद्र्धन गर्ने साझा दृष्टिकोणमा जोड दिइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
ऊर्जा मन्त्रालयका अनुसार दुवै राजदूतसँगको संवादमा आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर सहकार्य गर्ने सहमति भएको छ।
वैशाख १२, २०८३ शनिबार १२:२९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।