विश्वराजको उही पुरानै रवाफ : हिजो प्रहरी कार्यालयमा नागरिकलाई सास्ती, आज स्कुलमा हेडमास्टरलाई धम्की!
काठमाडौं : ‘फौजी’ जीवनबाट राजीनामा दिएर राजनीतिमा होमिएका व्यक्तिहरूले आफ्नो पुरानो ‘हाकिम’ प्रवृत्ति सजिलै त्याग्न सक्दैनन् भन्ने उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल बनेका छन्।
पूर्वएआईजीसमेत रहेका पोखरेलले सांसदको पदीय मर्यादा भुलेर ओखलढुङ्गाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएपछि उनी चौतर्फी आलोचनाको केन्द्रमा तानिए।
प्रहरीको बर्दी फुकालेर खाँडीको कोट लगाए पनि पोखरेलको बोली र व्यवहारमा उही पुरानो प्रहरी-रवाफ देखियो। आफ्नो स्वागतमा गेटमा उभिन नआएको भन्दै उनले गृह जिल्लाका एक प्रधानाध्यापकलाई सार्वजनिक रूपमै अपमानित गरे।
आफूलाई ‘माननीय’ र ‘विशिष्ट श्रेणीको पूर्वकर्मचारी’ भन्दै उनले प्रधानाध्यापकलाई भने, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ। तपाईं कर्मचारी हो। म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ। जिल्लाको एउटा माननीय आउँदा हेड मास्टरभित्र चुप लागेर बस्ने ?’
रास्वपा नेता तथा कार्यकर्ताबाटै आलोचना
सांसद पोखरेलको यो शैलीको पार्टीभित्र र बाहिरबाट तीव्र विरोध भइरहेको छ। पूर्वशिक्षामन्त्री एवं म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले पोखरेलको व्यवहारप्रति कडा आक्रोश व्यक्त गर्दै उनलाई पदबाटै बर्खास्त गर्नुपर्ने माग गरेका छन्।
‘यिनी कुन पार्टीका हुन् कुन्नी? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ,’ पुनले आक्रोश पोखेका छन्, ‘सासंद भनेको जनताको नोकर हो। बाटोमा स्वागत गरेनन् भनेर दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्यो कि त सारा जनताले फिर्ता बोलाउनु पर्यो।’
मोरङ-३ बाट निर्वाचित केन्द्रीय सदस्य गणेश कार्कीले पोखरेललाई ‘भुईं नछाड्न’ चेतावनी दिएका छन्। चुनाव जितेको दुई महिनामै मतदातालाई गरेका हजारौं नमस्ते बिर्सिएको भन्दै कार्कीले कटाक्ष गरेका छन्।
त्यसैगरी, रास्वपाकी सक्रिय कार्यकर्ता स्वस्तिका लामिछानेले पोखरेललाई ‘बोल्न सिक्न’ सुझाव दिएकी छन्। ‘फौजीमा आफूभन्दा सानालाई थर्काए जसरी आफ्ना मतदाता थर्काउन पाइँदैन,’ उनले लेखेकी छन्, ‘माननीय भएँ भन्दैमा मैमत्ता हुने काम बन्द गरियोस्। माथि उचाल्न सक्नेले भुइँमा पछार्न नि सक्छन्, हेक्का रहोस्।’
हिजो नागरिकलाई सास्ती, आज शिक्षकलाई धम्की
सांसद पोखरेलले अहिले विद्यालयमा देखाएको रवाफ नयाँ भने होइन। यो नेपाल प्रहरीको नेतृत्व तहमा रहँदाको उनको व्यवहारकै निरन्तरता हो।
प्रहरी संगठनभित्र नागरिकलाई थर्काउने र पदको दुरुपयोग गर्ने प्रवृत्ति कतिसम्म जरा गाडेर बसेको छ भन्ने उनको कुरा विगतका घटनाक्रमले पनि देखाउँछ।
ठ्याक्कै आठ वर्षअघि व्यवसायी अनिल विश्वकर्मा (गजमेर)ले भोगेको नियति प्रहरीभित्रको यस्तै ‘हाकिमी’ रवैयाको एउटा ज्वलन्त उदाहरण हो। त्यो मुद्दामा तत्कालीन एसएसपी रहेका पोखरेलले आफूमाथि प्रतिशोध साँधेको उनको आरोप थियो।
व्यावसायिक लेनदेनको विषयलाई लिएर राधिका कटुवालले दिएको ‘मार्छु काट्छु’ भन्ने झुठो उजुरीका आधारमा प्रहरीले अनिललाई बारम्बार मानसिक सास्ती दिएको थियो।
यसबारेमा उकेराले केही समयअघि ‘प्रहरीको सनकले बिना अपराध डेढ वर्ष जेल बसेर निर्दोष साबित भएका व्यवसायी अनिल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
वैशाख १२, २०८३ शनिबार ११:०६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।