आँखुखोला जलविद्युतको वित्तीय अवस्थामा सुधार, आम्दानी ३२ प्रतिशतले बढ्दा नाफा ३ करोड ८३ लाख
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्म वित्तीय प्रदर्शनमा उत्साहजनक सुधार गरेको छ।
कम्पनीले सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री र खुद नाफा दुवैमा सकारात्मक वृद्धि देखिएको हो।
विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्षको चैत मसान्तसम्म कम्पनीको यस्तो आम्दानी १३ करोड ७ लाख रुपैयाँ मात्र थियो।
कम्पनीको खुद नाफामा पनि १३.८२ प्रतिशतको सुधार आएको छ। यस अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा २३.३१ प्रतिशतले आएको कमीले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ।
वित्तीय सूचकहरू तर्फ, कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसाले बढेर २ रुपैयाँ ५६ पैसा कायम भएको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा देखिएको छ।
हाल २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष (अन्य इक्विटी) भने अझै १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। आम्दानी र नाफामा आएको यो सुधारले लगानीकर्ताहरूमा सकारात्मक आशा जगाएको छ।
वैशाख १२, २०८३ शनिबार १०:४१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।