सुकुम्बासी बस्तीका सामान सार्न सघाउँदै प्रहरी

सुकुम्बासी बस्तीका सामान सार्न सघाउँदै प्रहरी

काठमाडौं : काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको अव्यवस्थित सुकुम्बासी बस्ती भत्काउन काठमाडौं महानगरपालिकाको टोली डोजरसहित पुगेको छ।

बस्ती खाली गराउन शनिबार बिहानै डोजरसहितका उपकरण पुगेपछि स्थानीय आफैँले आफ्नो टहरा भत्काउन थालेका छन् भने नेपाल प्रहरीले उनीहरूलाई सामान सार्न सघाइरहेको छ।

काठमाडौं महानगरपालिकाले शुक्रबारसम्मको अल्टिमेटम दिएपछि शनिबार बिहानैदेखि बस्तीमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

विगतमा बस्ती हटाउन खोज्दा झडप हुने गरेको भए पनि यसपटक भने माहोल फरक देखिएको छ। नेपाल प्रहरीका जवानहरू सुकुम्बासीका घरभित्रै पसेर लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामान सुरक्षित स्थानमा निकाल्न सहयोग गरिरहेका छन्।

महानगरको डोजरले पेलेर नष्ट गर्नुभन्दा आफ्नै हातले भत्काउँदा केही सामान जोगिने भन्दै स्थानीयले आफैँ घर भत्काउन थालेका हुन्।

उनीहरूले टहराबाट निकालिएका जस्तापाता र काठपात अत्यन्तै जतनका साथ मिलाएर चट्टा बनाएर राखेका छन्। कतिपयले शुक्रबार साँझ नै सामान सारिसकेका थिए भने बाँकी रहेकाहरू शनिबार मिरमिरेदेखि नै सामान पोको पारेर बस्तीबाट बाहिरिइरहेका छन्।

अचानक बास उठेपछि सुकुम्बासीहरूले आफूहरूको जाने ठाउँ नभएको र तत्काल कोठासमेत नपाएको भन्दै गुनासो गरिरहेका छन्। यद्यपि, प्रधानमन्त्री वालेन्द्र शाहले उनीहरूलाई विकल्पसहित व्यवस्थापन गर्न खोजिएको बताउँदै आएका छन्।

यसैबीच, बस्ती खाली गराउने क्रममा सुरक्षाकर्मीले मिडियालाई भने बस्तीभित्र प्रवेश गर्न पूर्ण रूपमा निषेध गरेका छन्। सञ्चारकर्मीहरूलाई बाहिरै रोकिएपछि उनीहरू सुरक्षा घेराभन्दा परैबाट समाचार संकलन गर्न बाध्य छन्।

महानगरपालिकाले पहिलो चरणमा थापाथलीसँगै सिनामंगलको गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती शनिबार र आइतबार दुई दिन लगाएर हटाउने तयारी गरेको छ। पहिलो चरणको अभियान सकिएपछि दोस्रो चरणमा उपत्यकाका बाँकी सुकुम्बासी बस्ती हटाइने छ।

वैशाख १२, २०८३ शनिबार ०८:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।