एआरई जीपी ग्रान्ड फिनालेमा तीन नेपाली राइडरलाई सफलता

एआरई जीपी ग्रान्ड फिनालेमा तीन नेपाली राइडरलाई सफलता

काठमाडौं : भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न 'एआरई जीपी ग्रान्ड फिनाले'मा तीन नेपाली राइडरले पोडियम स्थान हासिल गरेका छन्। अन्तर्राष्ट्रिय ट्र्याकमा भएको प्रतिस्पर्धामा नेपाली राइडरहरूले विभिन्न विधामा प्रथम र दोस्रो स्थान प्राप्त गरेका हुन्।

प्रतियोगिताको नतिजा अनुसार, २०० सीसी विधामा अभिनव राज मल्लले प्रथम स्थान हासिल गरे। त्यसैगरी, ३१० सीसी विधामा दिलीप दनुवारले प्रथम स्थान जिते भने १६० सीसी विधामा सुजन थापा मगर दोस्रो स्थान हासिल गर्न सफल भए।

टिभिएस अपाची रेसिङ एक्सपिरियन्सअन्तर्गत नेपालबाट छनोट भएर गएका यी राइडरहरूले उच्च गतिको चुनौती र कठिन मोडहरूमा आफ्नो प्रदर्शन देखाएका थिए। यो कार्यक्रमले स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने र रेसरहरूको नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले हासिल गरेको यो सफलता हामी सबैका लागि गौरवको विषय हो। यो उपलब्धिले उनीहरूको मेहनत, क्षमता र प्रतिबद्धतालाई मात्र होइन, नेपालको मोटरस्पोर्ट्स क्षेत्रको बढ्दो सम्भावनालाई पनि उजागर गरेको छ। टिभिएस अपाची रेसिङ एक्सपिरियन्स जस्ता प्लेटफर्ममार्फत हामी युवा राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्दै उनीहरूको क्षमताको विकासमा निरन्तर प्रतिबद्ध छौं।”

नेपालको मोटरस्पोर्ट्स यात्रामा क्षेत्रीय रेसिङ सर्किटमा देखिएको यो उपस्थितिलाई सकारात्मक संकेतको रूपमा लिइएको छ। टिभिएस रेसिङले प्रतिभा विकासका लागि गरिरहेको लगानी र राइडरहरूको तयारीले अन्तर्राष्ट्रिय स्तरमा यस्तो नतिजा सम्भव भएको सामग्रीमा उल्लेख छ।

वैशाख ११, २०८३ शुक्रबार २२:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।