नबिल बैंकको खण्डन : 'ग्राहकको विवरण चुहावट भएको छैन, दुष्प्रचारको पछि नलाग्नू'
काठमाडौं : नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरूको खण्डन गरेको छ। मंगलबार बैंकले एक प्रेस विज्ञप्ति जारी गरेर समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू आधारहीन र प्रमाणविहीन भनेको छ।
वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ शीर्षकको समाचारमा प्रकाशित विषयहरू लिएर सामाजिक सञ्जालमा नियोजित रूपमा दुष्प्रचार गरिएको भन्दै बैंकले आपत्ति जनाएको छ। समाचारमा “अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण” भनी उल्लेख गरेको तथ्यलाई नजरअन्दाज गरिएको बैंकको भनाई छ।
बैंकले प्रचलित कानुन, नियमन र आन्तरिक सुशासनका नीतिहरूको पूर्ण पालना गर्दै ग्राहकको गोपनीयता कायम राख्न आफू कटिबद्ध रहेको जनाएको छ। ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि वा नियामक तथा अनुसन्धानकारी निकायले कानुनी प्रक्रिया पूरा गरी मागेको अवस्थामा बाहेक बैंकले अन्य कुनै पनि तेस्रो पक्ष वा सञ्चार माध्यमलाई विवरण उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ।
बैंकले भनेको छ, “बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रूपमा अभिलिखित रहन्छ।”
बैंकले तथ्यहीन र भ्रामक सूचना फैलाउने व्यक्ति वा निकायमाथि ‘विद्युतीय कारोबार ऐन, २०६३’ तथा अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ। चार दशकभन्दा लामो इतिहास भएको बैंकले यस्ता दुष्प्रचारको विश्वास नगर्न र बैंकको सुरक्षा प्रणालीमा ढुक्क रहन आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, "बैंक सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट रूपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन।"
वैशाख ११, २०८३ शुक्रबार २१:०२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।