कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम स्थगित

कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम स्थगित

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम स्थगित गरिएको छ। शुक्रबारका लागि दलको नेता निर्वाचनमार्फत चयन गर्ने तालिका तोकिएको थियो। 

पार्टीसँगको परामर्शमा सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास गर्ने भन्दै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।

यसैबीच, शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ।

उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेही, निर्वाचन समिति सदस्यहरू मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य रहेका छन्। निर्वाचन कार्यतालिकासहितको अर्को सूचना यथाशीघ्र प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।

वैशाख ११, २०८३ शुक्रबार २०:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।