सिस्टम ह्याक गरेर ठेक्का पाएको आरोपमा पूर्वमन्त्री पाण्डे पक्राउ

सिस्टम ह्याक गरेर ठेक्का पाएको आरोपमा पूर्वमन्त्री पाण्डे पक्राउ

काठमाडौँ : सार्वजनिक निर्माण सम्बन्धी ठेक्काको वेभ पोर्टल ह्याक गरेर ठेक्का विवरण प्रणाली हेरेर गरेको आरोपमा अनुसन्धानका लागि कालिका कन्स्ट्रक्सनका प्रमुख तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रवार पक्राउ गरेको हो। पछिल्लो समय सार्वजनिक खरिद तथा निर्माणमा बोलपत्र दाखिला गर्न अनलाइन पद्धति अपनाइने गरिन्छ।

ठूला निर्माण कम्पनीसहितले सो प्रणालीमा अनधिकृत प्रवेश गराएर प्रतिष्पर्धीहरुले राखेको प्रस्तावको विवरण हेरेर अन्तिम समयमा आफ्नो प्रस्ताव संशोधन गरेर ठेक्का पार्ने गरेको देखिएपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानकोक्रममा सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गर्ने गरेको प्रमाणहरू फेला परेपछि ब्युरोले पक्राउकोक्रम सुरु गरेको थियो। यसमा पाण्डे संलग्न कालिकाले समेत यस्तै प्रक्रिया गरेर केही ठेक्का पाएको देखिएपछि उनलाई पक्राउ गरिएको हो।

यस अगाडि यही प्रकरणमा ६ जना निर्माण सम्बन्धी कम्पनीका सञ्चालकहरू समातिइसकेका छन्। अहिले ब्युरो सार्वजनिक निर्माणमा केन्द्रित देखिन्छ। जानकारका अनुसार ठूला प्रकृतिको स्वास्थ्य सम्बन्धी ठेक्का प्रक्रियामा समेत यस्तै शैलीमा सिस्टम ह्याक गरेर केही सप्लायर्सहरुले ठेक्का पाएका थिए।

कसरी हुन्थ्यो चलखेल ?

अहिले सार्वजनिक खरिद र निर्माण सम्बन्धी बोलपत्रहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभ पोर्टल पद्धतिबाट आवेदन दिन सकिन्छ। जहाँ ठेक्का खुलेको हो त्यहीँ गएर भौतिक रूपमा प्रस्ताव दर्ता गर्दा अवरोध गरेर दर्तै गर्न नदिने समस्या बढेपछि सरकारले सार्वजनिक ठेक्का प्रणालीमा विद्युतीय प्रणाली अपनाएको थियो।

विद्युतीय प्रणालीमा प्रस्ताव दर्ता गरेपछि पनि अन्तिम समय नसकिएसम्म पटक पटक संशोधन गर्न सकिन्छ। सार्वजनिक निर्माण, स्वास्थ्य लगायतका ठूला ठेक्कामा अन्तिम समयमा प्रस्ताव संशोधन गर्नेहरूले नै ठेक्का पाइरहेका थिए।

सिस्टम अनुसार आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरेर आफ्नो मात्र प्रस्ताव हेरफेर गर्न सकिने भए पनि ठेक्कामा सहभागीहरूले सिस्टम ह्याक गरेर अन्य प्रस्तावकले प्रस्ताव गरेको विवरण हेरेर आफ्नो संशोधन गर्ने गरेको देखिएपछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानमा सामान्य मात्र नभई अर्बौँको ठेक्कामा समेत सिस्टम ह्याक गरेर प्रतिस्पर्धीको प्रस्ताव हेरेर आफ्नो प्रस्ताव संशोधन गर्न प्राय एकै कम्पनीहरू संलग्न देखिएपछि प्रहरीले सूची बनाएर पक्राउ सुरु गरेको थियो। त्यहीक्रममा पाण्डे शुक्रवार पक्राउ परेका हुन्।

वैशाख ११, २०८३ शुक्रबार १९:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।