नेपोबेबीको नमुना : प्रधानमन्त्री वालेन्द्रका सल्लाहकार कुमार बेनका दाइ खेलकुद मन्त्री सस्मितका प्रमुख सल्लाहकार

नेपोबेबीको नमुना : प्रधानमन्त्री वालेन्द्रका सल्लाहकार कुमार बेनका दाइ खेलकुद मन्त्री सस्मितका प्रमुख सल्लाहकार

काठमाडौं : नेपाली राजनीतिमा वर्षौंदेखि जकडिएको भ्रष्टाचार, नातावाद र ‘नेपोबेबी’ संस्कृतिविरुद्ध जेनजी पुस्ताको आवेग र विद्रोहबाट जन्मिएको सरकार हो- वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान क्याबिनेट। झन्डै दुई तिहाइको शक्तिशाली जनमत पाएर ‘सिस्टम’ सुधार्ने कसमका साथ सत्तामा पुगेका बालेन टिम पनि अवसरमा अन्ततः पुरानै राजनीतिक दलहरूकै नेपोबेबी पथमा लागेको देखियो। 

उनी आवद्द राष्ट्रिय स्वतन्त्र पार्टीले सबै नियुक्तिको आधारमा विज्ञता र योग्यता बनाएको थियो। तर सरकार बनेसँगै भइरहेका केही नियुक्तिको आधार विज्ञता र योग्यता भन्दा नाता हावी भएको देखियो। त्यसैको नमुना देखियो खेलकुद मन्त्री सस्मित पोखरेलको प्रमुख सल्लाहकारमा नियुक्त सिद्धि व्यञ्जनकार

सिद्धि कुमारको पर्ने हैन, आफ्नै दाई हुन्। खेलकुद क्षेत्रमा उनको विज्ञताबारे जानकारहरूसँग बुझ्दा औसत प्रशिक्षक रहेको देखियो। तर वालेन्द्रको नेतृत्वमा सरकार बने लगत्तै उनलाई खेलकुद मन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको खुल्यो।

उकेराले सिद्धिबारे खेलकुद मन्त्रालयका अधिकारीसँग जिज्ञासा राखेको थियो। मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले "चैत १९ गतेबाट लागु हुनेगरी सिद्धि व्यञ्जनकार खेलकुदमन्त्री सस्मित पोखरेलको प्रमुख सल्लाहकार पदमा नियुक्त गरिएको" लिखित जानकारी आएको बताए।

उनले उकेरासँग भने, ‘चैत १९ गते मन्त्रीको प्रमुख सल्लाहकारमा सिद्धि व्यन्जनकार नियुक्त भएकाबारे मन्त्रालयलाई लिखित जानकारी आएको छ।’ सिद्धिसँगै सस्मितले स्वकीय सचिवको रुपमा सविनय खतिवडा र निशान महर्जनलाई नियुक्त गरेका छन्। सरकारले उनका लागि निजी सचिवसमेत दिएको छ।

मन्त्री सस्मित शिक्षामन्त्री समेत हुन्। उनी प्राय खेलकुद मन्त्रालयमा भन्दा शिक्षा मन्त्रालयमै व्यस्त रहने गरेका छन्। उनी नियमित उपस्थित नहुँदा मन्त्रीलाई आवश्यक पर्दा सल्लाह दिने जिम्मेवारीमा रहेका सिद्धिको सक्रियता मन्त्रीको सल्लाहकारभन्दा छायाँ खेलकुद मन्त्री बराबर देखियो।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाई पर्फमेन्स सेन्टर तथा पौडी पोखरीको स्थलगत निरीक्षण सहभागीहुँदा सँगै रहेका सल्लाहकार सिद्धि (खैरो कोटमा)। तस्बिर : सिद्धको फेसबुक पेजमन्त्रीसँगै अनुगमनमा सहभागी हुनु उनको जिम्मेवारी भित्रकै काम देखिन्छ। तर उनी  बजेट विनियोजनदेखि वैदेशिक भ्रमण र खेलाडी बिदाइसम्मका कार्यकारी काममा समेत सहभागी हुने गरेको देखियो। उनको पदीय जिम्मेवारी मन्त्री पोखरेललाई सल्लाह दिने भए पनि उनी भने राष्ट्रिय खेलकुद परिषदसहितका खेलकुद सम्बन्धित निकायलाई निर्देशन दिन व्यस्त देखिए।

सिद्धिको योग्यता 'सामान्य फुटबल प्रशिक्षण'

नेपालको खेल क्षेत्रबारे मन्त्रीलाई सल्लाह दिने तहमा नियुक्त भएका सिद्धिको योग्यताबारे उकेराकर्मीले खेल क्षेत्रका जानकारहरूसँग बुझ्दा उनी नेपाली फुटबल क्षेत्रभित्र सामान्य प्रशिक्षकसम्म रहेको खुल्यो। प्राय फ्रेन्ड्स फुटबल क्लबसँग आवद्द हुने उनी त्यसमा सामान्य प्रशिक्षकसम्म बनेको र उनी खेल प्रशिक्षक संघको सदस्य रहेको खुल्यो।

महालक्ष्मी स्पोर्ट्स हबले उनको जन्मदिनमा शुभकामना दिँदा 'सञ्चालक सिद्धि व्यञ्जनकार' भनेर लेखेको छ। जानकारस्रोत खेलकुदमा उनीसँगै उनको भाई कुमार व्यञ्जनकारको धेरै रुची देखिन्थ्यो। उनी पनि फ्रेन्ड्स क्लबका समर्थक देखिए। 

निजी क्षेत्रको फ्रेन्चाइजी फुटबल लिग ‘नेपाल सुपर लिग’मा रहेको बुटवल एफसीसँग समेत उनीहरू जोडिएको खुल्यो।जानकारस्रोतका अनुसार फ्रेन्चाइजी सम्बन्धी बैठकहरूमा सिद्धिसहित अहिलेका भौतिक मन्त्री सुनिल लम्साल र सुशील कडरिया सहभागी हुन्थे।

"क्लबमा उहाँहरूको संलग्नताबारे जानकारी भएन। तर फ्रेन्चाइजीहरुको बैठकमा भने प्राय सुनिल लम्साल, सुशील कडरिया र सिद्धि व्यञ्जनकार सहभागी हुनुहुन्थ्यो" स्रोतले भन्यो।

वैशाख ११, २०८३ शुक्रबार १७:००:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।