रास्वपा कार्यालयमा ‘हाइ अलर्ट’, ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन
काठमाडौं : सरकारले थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती भोलि बिहानैदेखि भत्काउने ‘अल्टिमेटम’ दिएपछि उत्पन्न तनावको राप अहिले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ सोझिएको छ।
सरकारको निर्णयविरुद्ध आन्दोलित सुकुम्बासीहरूले आज चःमतिस्थित रास्वपाको केन्द्रीय कार्यालय घेराउ गर्ने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
सुकुम्बासीहरू थापाथलीबाट रास्वपा कार्यालयतर्फ मार्च गर्ने सूचना पाएलगत्तै प्रहरीले चःमति क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ।
रास्वपा केन्द्रीय कार्यालयबाहिर बालाजुका डीएसपी यमलाल बञ्जाडेको नेतृत्वमा ठूलो सङ्ख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले कार्यालयमा क्षति पुर्याउन सक्ने वा अप्रिय स्थिति सिर्जना हुन सक्ने भन्दै प्रहरीले ‘ब्यारिकेड’ नै खडा गरेर उच्च सतर्कता अपनाएको छ।
यसअघि थापाथली बस्तीमा भेला भएका सुकुम्बासीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारूढ रास्वपाविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरूले रास्वपाले चुनावका बेला गरेका बाचाहरू भुलेर सुकुम्बासीलाई विल्लीबाठ बनाउन खोजेको आरोप लगाएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ६ बुँदे आदेश जारी गर्दै आज साँझ ७ बजेभित्र सामान सारिसक्न र भोलि बिहान ६ बजेदेखि डोजर चलाउने घोषणा गरिसकेको छ। प्रशासनले अवरोध गर्नेलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
वैशाख ११, २०८३ शुक्रबार १४:१०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।