हिजोको मिति राखेर काठमाडौं प्रशासनले दियो अन्तिम चेतावनी, भन्यो- ‘साँझ ७ बजेसम्म बस्ती खाली गर्नू’
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनारका सार्वजनिक र सरकारी जग्गामा रहेका अनधिकृत घर-टहरा हटाउन अन्तिम अल्टिमेटम जारी गरेको छ।
प्रशासनले बिहीबारको मिति राखेर केहीबेरअघि जारी गरेको सूचनामा शुक्रबार अर्थात आज साँझ ७ बजेभित्र सबै संरचना खाली गरिसक्न र भोलि वैशाख १२ गते बिहान ६ बजेदेखि भत्काउने कार्य सुरु हुने जानकारी दिएको छ।
यद्यपि प्रशासन कार्यालयको वेबसाइटमा भने शुक्रबार दिउँसो १ बजेमात्र यो सूचना राखिएको छ।

प्रशासनद्वारा जारी सूचनामा नदीको बहाव र सहरी पूर्वाधार निर्माणमा प्रतिकूल प्रभाव पारेका सम्पूर्ण घर-टहरा, पसल र व्यवसायहरू आज साँझसम्म खाली गर्न भनिएको छ।
आफैँ सामान सार्न नसक्नेहरूको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीले आवश्यक ढुवानीको प्रबन्ध मिलाउने र सहयोग गर्ने प्रशासनले उल्लेख गरेको छ।
विशेषगरी अपाङ्गता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र बिरामीहरूलाई प्राथमिकता दिएर अन्यत्र सार्न भनिएको छ।
प्रशासनले भोलि वैशाख १२ गते बिहान ६:०० बजेदेखि डोजर चलाएर अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गराउने कार्य हुने प्रष्ट पारेको छ।
यस कार्यमा बाधा अवरोध पुर्याउने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। सूचनालाई अटेर गरी बसेको खण्डमा हुने संरचना र व्यक्तिगत सम्पत्तिको क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने प्रशासनको भनाइ छ।
बस्तीबाट उठाइएका परिवारहरूलाई सरकारले तोकेका विभिन्न बसोबासका स्थानहरूमा राखिने प्रशासनले जनाएको छ। त्यहाँ उनीहरूलाई आधारभूत न्यूनतम सुविधाहरू उपलब्ध गराइनेछ।
सुरक्षित स्थानमा सार्ने कार्य सकिएपछि नेपाल सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले ‘वास्तविक भूमिहीन सुकुम्बासी’को लगत लिने र स्क्रिनिङ गर्ने काम तत्काल सुरु गर्नेछन्।
प्रशासनका अनुसार आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूका लागि बसोबासको उचित प्रबन्ध गरिने तयारी भइरहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा हस्ताक्षरित यस सूचनामार्फत सबैलाई यस कार्यमा सहयोग गर्न आह्वान गरिएको छ।

वैशाख ११, २०८३ शुक्रबार १३:४३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।