थापाथलीको सुकुम्बासी बस्तीमा सामान सार्ने चटारो र आन्दोलन सँगसँगै, प्रहरीले जोड्यो सीसीटीभी क्यामेरा
काठमाडौं : थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गर्ने सरकारको अन्तिम तयारीसँगै शुक्रबार दिउँसो त्यहाँ चटारोको अवस्था छ।
एकातिर बस्तीका केही स्थानीय सुरक्षित ठाउँको खोजीमा सामान पोको पारेर बाहिरिन थालेका छन् भने अर्कोतिर पुनर्वासको माग गर्दै एक समूहले चर्को विरोध प्रदर्शन सुरु गरेको छ।
शुक्रबार बिहानैदेखि थापाथली बस्तीका केही घरबाहिर सामानका थुप्राहरू देखिएका छन्। सरकारको आदेशपछि केही परिवार गाडीमा सामान राखेर बस्ती छाड्दै गरेको देखिन्छ। तर, बस्तीमै रहेका केही स्थानीय भने प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘वाचा पत्र’ हातमा लिएर सरकारलाई आफ्ना बाचाहरू सम्झन भनेको छ। उनीहरूले ‘पल्टाऊ वाचा पत्र अनि पढ’, ‘पुनर्वासबिना हटाउने निर्णय मान्य छैन’ र ‘वास्तविक सुकुम्बासीको पहिचान गर’ जस्ता नारा लगाइरहेका छन्।
प्रहरीको सिसिटिभी ‘निगरानी’ र मुठभेडको त्रास
बस्ती खाली गर्ने प्रक्रियालाई थप कडा बनाउन र सम्भावित मुठभेडको निगरानी गर्न नेपाल प्रहरीले शुक्रबार बिहानैदेखि बस्तीका रणनीतिक ठाउँहरूमा ‘हाई-टेक’ सिसिटिभी क्यामरा जडान गरेको छ। ३६० डिग्रीमा देखिने ठूला-ठूला चारवटा क्यामराहरू पोलमा जडान गरिएको छ।
यद्यपि, जडानमा खटिएका कर्मचारीले यसलाई ‘नियमित कार्य’ भनेका छन्। तर, बस्ती हटाउने र सुरक्षाकर्मी परिचालन गर्ने तयारीकै बीच सिसिटिभी राखिनुले मुठभेड भएमा अनुसन्धान र पहिचानका लागि प्रहरीले पूर्वतयारी गरेको स्पष्ट बुझिन्छ।
आन्दोलनका प्रमुख नेतृत्वकर्ता परिश्रमी पक्राउ
बस्तीमा तनाव बढिरहेकै बेला सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार परिश्रमीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको हो।
परिश्रमी यसअघि पनि सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरीमाथि बल प्रयोग गरेको अभियोगमा मुछिएका व्यक्ति हुन्।
सरकारले बस्ती हटाउने अन्तिम तयारी गरिरहेको संवेदनशील समयमा आन्दोलनका प्रमुख नेतृत्वकर्तालाई ‘बैंकिङ कसुर’ को पुरानो मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको हो।
यस्तो छ बुँदे माइकिङ
यसै क्रममा बिहीबार साँझदेखि महानगरीय प्रहरीले सुकुम्बासी बस्ती खाली गर्न माइकिङ गरेका थिए।
महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा माइकिङ गर्न पठाइएको छ। महानगर प्रहरीले माइकिङ गर्दा ६ वटा बुँदा भनेको छ।
महानगर प्रहरीले शुक्रबार साँझसम्म अवैध रूपमा बनाइएका घर-टहराहरू खाली गर्न, घर-टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपंक्षी सुरक्षित स्थानमा तत्काल सार्न आग्रह गरेको छ।
यसका अलावा अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिन पनि आग्रह गरिएको छ।
शनिबार विहान बिहान ६ बजेदेखि घर-टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिने भन्दै त्यसमा बाधा पुर्याएमा कानुन बमोजिम कारबाही गरिने र सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरू गरिने समेत बताइएको छ।
साथै छैटौं बुँदामा १० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी रहेको समेत उल्लेख महानगरीय प्रहरीको माइकिङमा भनिएको थियो।
प्रधानमन्त्री बालेन शाहले बुधबार सुरक्षा प्रमुखहरूलाई शनिबार र आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए। सुकुम्बासी बस्ती हटाउने सुरूआत काठमाडौं उपत्यकाबाटै गर्न उनले निर्देशन दिएका थिए।
वैशाख ११, २०८३ शुक्रबार १२:५३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।