टिकटकर तुलसी अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर
काठमाडौं : व्यवसायी कुमार चिमोरियालाई ठगी गरेको अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा चलिरहेकी टिकटकर तुलसी अधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ।
टिकटक मार्फत अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने, चरित्रहत्या गर्ने र नाबालिगलाई समेत अपमानित गर्ने कार्यमा संलग्न रहेको आरोपपछि प्रहरीले अनुसन्धान गरेपछि उनीविरुद्ध सरकारी वकील कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरेको हो।
अभियोग पत्रका अनुसार अधिकारीले आफ्नो टिकटक आईडीबाट ‘लाइभ’ बस्ने र भिडियोहरू पोस्ट गर्ने क्रममा पीडित महिला र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी निकै तल्लो स्तरको गालीगलौज गरेकी थिइन्।
उनले पीडितलाई ‘क्यान्सर लागेको’, ‘श्रीमानले छाडेको’ तथा अन्य अश्लील र अपाच्य शब्दहरू प्रयोग गरी अपमान गरेको जाहेरीमा उल्लेख छ।
अधिकारीले पीडितका १२ वर्षीय नाबालिग छोराको अस्तित्व र व्यक्तित्वमाथि समेत आँच पुग्ने गरी घृणा फैलाउने र होच्याउने काम निरन्तर रूपमा गरेको दाबी गरिएको छ।
प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा अधिकारीले प्रयोग गरेका टिकटक एकाउन्टहरूबाट भएका त्यस्ता गतिविधिहरू पुष्टि हुने प्रमाण फेला पारेको छ।
यस प्रकरणमा मनिता राई र सविना वि.क. लगायतका व्यक्तिहरूले अधिकारीले टिकटकमा प्रत्यक्ष प्रसारणमार्फत जाहेरवालाको बेइज्जत गरेको र सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको भन्दै बयान दिएका छन्।
प्रहरीले पेन ड्राइभमा रहेका भिडियो क्लिपहरू र ‘स्क्रिनसट’ हरूलाई मुख्य प्रमाणका रूपमा अदालतमा पेश गरेको छ।
अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसूरमा सजाय माग गरिएको छ। उक्त ऐनअनुसार यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
साथै, कसूरदारबाट पीडितलाई भएको मानसिक यतनाको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति भराउन र ‘अपराध पीडित संरक्षण ऐन, २०७५’को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत मागदाबी गरिएको छ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालद्वारा हस्ताक्षरित यो अभियोग पत्र वैशाख १० गते अदालतमा दर्ता गरिएको हो। अधिकारी हाल फरार रहेकाले म्याद जारी गर्ने प्रक्रिया अघि बढाइएको छ।
यो पनि:
वैशाख ११, २०८३ शुक्रबार ११:३१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।