४० वर्ष पुरानो याद भन्दै सीजी फुड्सले ल्यायो ‘वाइ वाइ क्लासिक’
काठमाडौं : चाउचाउ ब्रान्ड वाइ वाइ उत्पादन सुरु भएको ४० वर्ष पूरा भएको अवसरमा सीजी फुड्सले ‘वाइ वाइ क्लासिक’ बजारमा ल्याएको छ।
कम्पनीले ‘उही स्वाद, उही याद’ भन्ने ट्यागलाइनसहित यो नयाँ संस्करण सार्वजनिक गरेको हो।
उपभोक्ताको पुरानो सम्झनालाई लक्षित गर्दै ल्याइएको ७५ ग्रामको वाइ वाइ क्लासिक प्याकेटको मूल्य ३० रुपैयाँ निर्धारण गरिएको छ।
वाइ वाइको मौलिक र रैथाने स्वादलाई कायम राख्दै यसलाई अझ परिष्कृत रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
यस संस्करणमा विशेष गरी ‘डिहाइड्रेटेड भेजीटेबल’ र ‘चिली फ्लेक्स’ समावेश गरिएको छ, जसले स्वादलाई थप सन्तुलित र स्वादिलो बनाउने कम्पनीको दाबी छ।
सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले वाइ वाइ नेपाली परिवारको एउटा विशेष सदस्यजस्तै रहँदै आएको उल्लेख गरे।
उनले भने, ‘वाइ वाइ क्लासिकमार्फत हामीले नेपाली उपभोक्ताको पुराना अनुभव, रमाइला पल र भावनासँग पुनः जोडिने प्रयास गरेका छौँ। यसले उपभोक्ताको सम्झनालाई पुनः जीवन्त बनाउने हाम्रो विश्वास छ।’
हाल नेपाली बजारमा लगभग आधा हिस्सा ओगटेको वाइ वाइले विश्व बजारमा पनि आफ्नो बलियो उपस्थिति जनाएको छ।
विश्व बजारको करिब ४ प्रतिशत हिस्सा ओगट्न सफल यो चाउचाउ हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा २० प्रतिशतले वृद्धि भइरहेको छ।
वैशाख ११, २०८३ शुक्रबार १०:५४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।