मकवानपुरको राक्सिराङमा खोलामा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु
मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिका-८ मा खोलामा नुहाउने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ।
सोमबार दिउँसो स्थानीय जलकुना खोलामा नुहाउन गएका ६५ वर्षीय हरिबहादुर ब्लोनको डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार राक्सिराङ-८, पाङथली बस्ने ब्लोन आफ्नो घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको खोलाको पानी जमेको खोल्सामा नुहाउन गएका थिए।
नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएको जानकारी स्थानीयले दिउँसो २:३० बजे अस्थायी प्रहरी पोष्ट गिङ्गुमा गराएका थिए।
खबर प्राप्त हुनासाथ प्रहरी हवल्दार रमेशप्रसाद यादवको कमाण्डमा टोली घटनास्थल खटिएको थियो। प्रहरीले खोजतलास गर्ने क्रममा दिउँसो ३ बजे ब्लोनलाई सोही खोल्सामा मृत अवस्थामा फेला पारेको हो।
मृतकको शवलाई अहिले घटनास्थलमै सुरक्षित राखिएको छ।
घटनाको थप अनुसन्धान, मुचुल्का र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा ‘सोको‘ सहितको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। घटनास्थल मनहरीबाट करिब १५ किलोमिटर उत्तरमा पर्दछ।
वैशाख ११, २०८३ शुक्रबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।