एसएलसी फेल भएपछि पोखरी खनेका गौरव ‘मत्स्य पर्यटन’मा पास

एसएलसी फेल भएपछि पोखरी खनेका गौरव ‘मत्स्य पर्यटन’मा पास

बुटवल : बुटवलबाट करिब २० किलोमिटरको दूरीमा रहेको रुपन्देहीको छपिया पछिल्लो समय माछापालन र ‘मत्स्य पर्यटन’को आकर्षक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

यहीँ रहेको ‘फिस भिलेज रिसोर्ट’ले माछाका पारखीहरूलाई मात्र होइन, व्यावसायिक कृषि सिक्न चाहनेहरूलाई समेत आकर्षित गरिरहेको छ।

परम्परागत कृषिलाई आधुनिक मत्स्य व्यवसाय र पर्यटनसँग जोड्ने यस रिसोर्टका संस्थापक हुन्- गौरव गौतम।

२०२८ सालमा जन्मिएका गौरवको बाल्यकाल गाउँकै सामान्य कृषिकर्ममा बित्यो। गाईबस्तु चराउने, घाँस काट्ने र हलो जोत्ने काममै उनी हुर्किए।

पढाइमा खासै रुचि नभएका उनी कक्षा १० सम्म त पुगे, तर २०४७ सालमा एसएलसी उत्तीर्ण हुन सकेनन्।

त्यसपछि उनले पुनः परीक्षा दिनेतिर ध्यान दिएनन्, बरु माछापालनमै आफ्नो भविष्य खोज्ने निधो गरे। सुरुमा बुवाको साथ लागेर दुईवटा पोखरीबाट उनले यो यात्राको आरम्भ गरेका थिए।

पहिलो वर्ष लगानीसमेत उठ्न सकेन। तर, हरेस नखाई निरन्तर लागिपरेका उनलाई दोस्रो वर्षबाट भने आम्दानी हुन थाल्यो। त्यसले उनमा थप हौसला जगायो।

विस्तारै उनले माछासँगै भुरा उत्पादन र बिक्रीसमेत सुरु गरे। यही तीन दशक लामो अनुभवले उनलाई अन्ततः 'रिसोर्ट' सञ्चालनको स्तरसम्म डोर्यायो।

सियारी गाउँपालिका-४, शिवपुरमा स्थापित 'फिस भिलेज रिसोर्ट' विगत ८ वर्षदेखि सञ्चालनमा छ। यहाँ आउने पर्यटकले माछा हेर्ने, बल्छी खेल्ने र स्वाद लिने मात्र होइन, शान्त वातावरणमा आवासीय सुविधासमेत पाउँछन्। 

रिसोर्टको मुख्य आकर्षण भनेको पोखरीमाथि बनाइएका सुन्दर कटेजहरू हुन्, जसले आगन्तुकलाई प्रकृतिको समीपमा रहेको फरक र आनन्ददायी अनुभव दिन्छन्। पोखरा, नारायणगढ, पाल्पा, बुटवल, भैरहवादेखि कपिलवस्तु र नवलपरासीसम्मका पर्यटक यहाँ माछाको स्वादसँगै प्राकृतिक परिवेशमा रमाउन आउने गर्छन्। 

यहाँ माछाका सेकुवा, स्टिम बोयल, तावा, मम, चिल्ली, फिसबल, फिस फिङ्गर र छोइलालगायत डेढ दर्जन परिकार उपलब्ध छन्। त्यसमध्ये ‘फिस मम’ आगन्तुकहरूले सबैभन्दा बढी रुचाउने परिकार बनेको गौरवले बताए।

विगत ३५ वर्षदेखि निरन्तर माछापालनमा सक्रिय गौरवले अहिले ७ बिघा जमिनमा १३ वटा पोखरी निर्माण गरेका छन्। तीमध्ये ७ वटामा भुरा र ६ वटामा माछा (कमन, ग्रास, सिल्भर, रहु, माकुर आदि) पालन भइरहेको छ।

विशेषगरी विवाह तथा पार्टीलाई लक्षित गर्दै उनले ‘छरी माछा’ उत्पादनमा बढी जोड दिएका छन्। उनका उत्पादनहरू रुपन्देहीसहित कपिलवस्तु, पाल्पा र नवलपरासीसम्म पुग्छन्। 

गौरवका अनुसार भुरा उत्पादनबाट मात्रै वार्षिक ३२ लाखभन्दा बढी र माछा बिक्रीबाट १६ लाख रुपैयाँ हाराहारीमा आम्दानी हुने गरेको छ। माछा पोखरी र रिसोर्टमा गरी उनको २ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

वार्षिक १ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेका गौरव अहिले देशको आर्थिक मन्दी र व्यापारिक सुस्तताबाट अछुतो भने छैनन्। लकडाउनको समयमा समेत दैनिक १५ सयसम्म पर्यटक आउने गरेको यस रिसोर्टमा अहिले व्यापार करिब ९० प्रतिशतले खस्किएको उनी बताउँछन्।

गौरबको साथमा उनकी पत्नी उमा।

‘अहिले रिसोर्टको खर्चसमेत माछापालनकै आम्दानीले धानिरहेको छ’, उनी भन्छन्। पहिले रिसोर्टमा २० जनाभन्दा बढी कर्मचारी रहे पनि अहिले कटौती गरेर ९ जनामा सीमित गरिएको छ।

किताबी ज्ञानभन्दा पनि व्यवहार र परिश्रमबाट व्यावसायिक सफलता प्राप्त गरेका गौरवलाई यस कर्ममा परिवारको बलियो साथ छ। श्रीमती, दुई छोरी र एक छोराको हौसलाले नै आफूलाई निरन्तर लागिरहन ऊर्जा मिलेको उनी बताउँछन्।

विगत सम्झिँदै उनी भन्छन्, ‘जब एसएलसीमा फेल भएँ, तब मेरो भाग्य नै फेल भएछ जस्तो लागेको थियो। यदि एसएलसी पास भएको भए कतै गइन्थ्यो होला, सरकारी जागिर खाइन्थ्यो कि! या भ्रष्टाचार पो गरिन्थ्यो कि! तर फेल भएपछि पोखरी खनेँ। आज एसएलसीमा सफल नभए पनि माछापालनमा सफल भएको छु। म यसैमा खुसी छु।’ 

वैशाख ११, २०८३ शुक्रबार ०९:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।