सगरमाथा आरोहरण : क्याम्प १ भन्दा तल हिउँको ढिक्काले बाटो अवरुद्ध, पग्लने प्रतिक्षामा ‘आइसफल डाक्टर’
काठमाडौं : वसन्त ऋतुको सगरमाथा आरोहण सुरु हुँदै गर्दा आधार शिविरमाथि हिउँको एक विशाल ढिक्काले बाटो छेकेको छ।
बाटो अवरुद्ध हुँदा आरोहणको पूर्वतयारी प्रभावित भएको छ भने यस वर्ष सगरमाथामा आरोहीहरूको ‘ट्राफिक जाम’ हुनसक्ने जोखिम बढेको छ।
सगरमाथाको तल्लो भागमा बाटो बनाउने र डोरी टाँग्ने काम गर्ने ‘आइसफल डाक्टरहरू’ले क्याम्प १ भन्दा ठीक तल रहेको करिब ३० मिटर अग्लो हिउँको ढिक्कालाई पन्छाउने वा छल्ने कुनै वैकल्पिक बाटो फेला पार्न सकेका छैनन्।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका आधार शिविर संयोजक छिरिङ तेन्जिङ शेर्पाका अनुसार त्यसलाई कृत्रिम रूपमा पगाल्ने कुनै उपाय नभएकाले आफैँ पग्लिएर भत्किने प्रतीक्षा गर्नुको विकल्प छैन।
लामो समयदेखि आइसफल डाक्टरको रूपमा काम गरिरहेका आङ सार्की शेर्पाले हिउँको ढिक्काको तल्लो भाग कमजोर भई पग्लिरहेकाले त्यो चाँडै भत्किने आश व्यक्त गरे।
‘हामीले दायाँबायाँ सबैतिर हेर्यौं तर अर्को सुरक्षित बाटो कतै भेटिएन। त्यसैले अहिले पर्खिनुको विकल्प छैन’, उनले भने।
सामान्यतया अप्रिलको यो समयसम्म आइसफल डाक्टरहरूले क्याम्प ३ सम्म डोरी टाँग्ने काम सकिसक्ने गर्थे। तर, यसपटक क्याम्प १ भन्दा करिब ६०० मिटर तलै उनीहरू रोकिएका छन्।
छोटिन सक्छ आरोहणको समय, 'ट्राफिक जाम' को डर
यस वर्ष छैटौं पटक सगरमाथाको चुचुरोमा पुग्ने तयारीमा रहेकी चर्चित नेपाली आरोही तथा फोटोग्राफर पूर्णिमा श्रेष्ठ हाल आधार शिविरमा अभ्यस्त हुँदैछिन्।
‘बाटो खोल्न ढिलाइ हुँदा यस वर्ष चुचुरोमा पुग्ने समय छोटिन सक्छ। थोरै समयमा धेरैले आरोहण गर्नुपर्ने हुँदा ट्राफिक जाम हुने हो कि भन्ने चिन्ता बढाएको छ’, उनले आधार शिविरबाट भनिन्।

मौसमको अनुकूलता हेर्दा मे महिनाको अन्त्यसम्म मात्र आरोहण गर्न सकिने अवस्था रहन्छ।
बाटो अवरुद्ध भएपछि पर्यटन विभागले वैकल्पिक उपायको खोजी गरिरहेको छ। विभागका महानिर्देशक राम कृष्ण लामिछानेका अनुसार डोरी टाँग्ने टोली र आवश्यक सामग्रीलाई हेलिकप्टरमार्फत सीधै क्याम्प २ मा लगेर त्यहाँभन्दा माथिको बाटो खुलाउने विकल्पमा छलफल भइरहेको छ।
‘अवरोध भएको ठाउँमा हिउँ पग्लिएर बाटो सुरक्षित नहुन्जेल हामी माथिल्लो भागमा काम अघि बढाउने सोचमा छौं’, लामिछानेले भने।
बढेको शुल्कका बाबजुद आरोहीको आकर्षण कायमै
मध्यपूर्वमा जारी इरान युद्धको प्रभावले उडान र इन्धनमा केही असर परे पनि यस वर्ष सगरमाथा आरोहण गर्नेको सङ्ख्यामा खासै कमी आएको छैन।
एक्सपिडिसन अपरेटर्स एसोसिएसनका अध्यक्ष डम्बर पराजुलीका अनुसार पदयात्रामा केही असर परे पनि पर्वतारोहणमा ठूलो प्रभाव परेको छैन।
पर्यटन विभागका अनुसार हालसम्म ३६७ जनाले आरोहण अनुमति लिइसकेका छन्, जसमा धेरैजसो चिनियाँ नागरिक छन्। चीनले यस वर्ष विदेशीलाई आफ्नो तर्फबाट आरोहण अनुमति नदिएकाले नेपालतर्फ चाप बढेको हो।
सन् २०१९ मा सगरमाथामा भएको ‘ट्राफिक जाम’को तस्बिर विश्वभर भाइरल भएपछि नेपालले अनुमति प्रणालीमा कडाइ गर्दै शुल्कमा भारी वृद्धि गरेको छ।
यस वर्ष विदेशी नागरिकका लागि वसन्त ऋतुको आरोहण शुल्क ११ हजार डलरबाट बढाएर १५ हजार डलर पुर्याइएको छ। नेपालीहरूका लागि भने शुल्क दोब्बर बनाएर १ हजार डलर (करिब १ लाख ३० हजार रुपैयाँ) कायम गरिएको छ।
बीबीसीको सामग्री नेपालीमा ट्रान्सक्राइब गरिएको
वैशाख ११, २०८३ शुक्रबार ०७:५१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।