कार्यक्षेत्रमा नखटिने अधिकृतलाई तीन दिने अल्टिमेटम, अटेर गरे कारबाही

कार्यक्षेत्रमा नखटिने अधिकृतलाई तीन दिने अल्टिमेटम, अटेर गरे कारबाही

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा भएर पनि हाजिर हुन नगएका १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा कार्यक्षेत्रमा जान निर्देशन दिएको छ। 

मन्त्रालयले वैशाख १० गते पत्राचार गरेर खटाइएको स्थानमा जान अटेर गरे विभागीय कारबाही गरिने चेतावनी दिएको हो। मन्त्रालयका अनुसार विभिन्न नगरपालिका तथा गाउँपालिकामा सरुवा गरिएका तर हालसम्म रमाना नलिई साबिककै कार्यालयमा बसिरहेका उपसचिव तथा शाखा अधिकृतस्तरका कर्मचारीहरूलाई लक्षित गरी निर्देशन जारी गरिएको छ। 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले खटाइएको स्थानमा तत्काल हाजिर हुन निर्देशन दिँदै अनुशासन उल्लंघन गर्ने कर्मचारीमाथि कडा कदम चालिने स्पष्ट पारिन्।

“मन्त्रालयले २०८२ भदौदेखि २०८२ माघसम्म विभिन्न स्थानीय तहमा सरुवा भई समय व्यतीत भइसक्दा समेत खटाइएको स्थानीय तह (नगरपालिका/गाउँपालिका)मा रमाना भई हाजिर हुन नगएका उपसचिव तथा १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना लिई जानु हुन अनुरोध छ,” मन्त्रालयले भनेको छ, “अन्यथा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्था बमोजिम कारबाहीको हुने गरी वैशाख १० गते पत्राचार गरिएको छ ।”

लामो समयदेखि सरुवा भएको कार्यक्षेत्रमा जान आलटाल गरी साबिककै कार्यालयमा बसिरहने प्रवृत्तिलाई निरुत्साहित गर्न मन्त्रालयले कडा कदम चालेको छ। आगामी दिनमा समेत तोकिएको अवधिभित्र हाजिर नहुने कर्मचारीहरूमाथि कानुन बमोजिम कडा कारबाही गरिने ब्यहोरा मन्त्रालयले स्पष्ट पारेको छ।

वैशाख १०, २०८३ बिहीबार २२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।