सुधन गुरुङको समाचारमा असहमती जनाउँदै सम्भव सिरोहियाले कान्तिपुरको म्यानेजिङ डिरेक्टर पदबाट दिए राजीनामा
काठमाडौं : आफ्नै प्रकाशन गृहका समाचारहरूप्रति असहमति जनाउँदै सामाजिक सञ्जालमा लेखेपछि बढेको विवादमा कान्तिपुर प्रकाशन गृहका म्यानेजिङ डिरेक्टर सम्भव सिरोहियाले राजीनामा दिएका छन्। गृहमन्त्री सुधन गुरुङबारे कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनमा प्रकाशित र प्रसारित समाचारलाई मिसन पत्रकारिता भन्दै सामाजिक सञ्जालमा लेखेपछि प्रकाशन गृहमा विवाद बढेको थियो।
विश्वस्त स्रोतका अनुसार उनले यही विषयमा असहमति जनाउँदै अध्यक्ष कैलाश सिरोहियालाई उनले राजीनामा बुझाएका हुन्। सम्भवले बिहीबार सामाजिक सञ्जालमा सुधनबारे प्रकाशित/प्रसारित समाचारको स्क्रिनसट राखेर लेखेका थिए "यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन।"
आफ्नै प्रकाशन गृहको प्रकाशनमा प्रकाशित र प्रशारित समाचारलाई मिसन पत्रकारिता भनेर सामाजिक सञ्जालमा लेखेपछि बिहीबार बिहानैबाट सम्पादकीय निर्देशक अनुप काफ्ले लगायतले असहमती जनाएपछि विवाद बढेको थियो। विवाद बढ्दै जाँदा अन्तमा सिरोहियाले नै राजीनामा दिए।
कान्तिपुर टेलिभिजनले बुधवार म्याद थपमा लागि अदालत लगिएका दिपक भट्टको एक्सक्लुसिभ भिडियो प्रशारण गरेको थियो। भिडियोमा भट्ट केही कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका देखिन्थे। सिरोहियाले सो भिडियोको स्क्रिनसट समेत सामाजिक सञ्जालमा राखेर असहमती जनाएका थिए।
वैशाख १०, २०८३ बिहीबार २२:१०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।