भट्ट समूहलाई शेयरको इन्साइडर कारोबारमा सघाएको आरोपमा शेखर गोल्छा पक्राउ
काठमाडौं : दीपक भट्ट र शंकर समूह मिलेर धितोपत्र कारोबारमा इन्साइडर ट्रेडिङ गरेर भएको साढे तीन अर्बको कारोबारको अनुसन्धानका लागि हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।
धितोपत्र बोर्डको अनुसन्धानमा भट्टसहितको सहयोगी देखिएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गोल्छालाई नक्सालबाट पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए।
धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएकाले सोही आधारमा आजै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइ पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।
बोर्डको प्रतिवेदनमा भट्टसहितको समूहले आफ्नो लगानी रहेको पब्लिक लिमिटेडहरुमार्फत कारोबार गरेर शेयरको मूल्य बढाउने, झुटो कारोबार गर्ने लगायतको गतिविधी गरेको र यसमा गोल्छा समेत सहयोगी देखिएको भन्दै थप अनुसन्धानका लागि प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाउन सुझाव दिएको थियो।
प्रतिवेदनमा के थियो ?
बैंकिङ कसुरहुँदै सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा भट्टको पक्राउसँगै सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा धितोपत्र बोर्डले गरेको अनुसन्धान प्रतिवेदनमा भट्ट र भृकुटी स्टकका कार्यकारी प्रमुख संदिप चाचानको योजनामा रोहित गुप्ता, शेखर गोल्छा, सुलभ अग्रवाल, सुलभको श्रीमती सुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहसमेत मिलेर नेपालको सेयर बजारमा तीन अर्ब बढीको इन्साइडर ट्रेडिङ गरेर सेयरको कृत्रिम मूल्य वृद्धि गराएर धितोपत्र सम्बन्धी विभिन्न कानुन उलंघन गरेको भन्दै थप छानबिन गराउन प्रतिवेदन प्रहरी प्रधान कार्यालय पठाउन सिफारिस गरेको थियो।
उकेराले प्राप्त गरेको प्रतिवेदनमा यो समूह मिलेर आफ्नै लगानी रहेका कम्पनीहरूमार्फत मिलेमतोमा विभिन्न कम्पनीको शेयर खरिद विक्री गर्ने गरेको विस्तृत विवरण उल्लेख छ। त्यसका लागि उनीहरूले आफ्नै लगानी रहेको एक कम्पनीमा रहेको शेयर किन्ने अनि महँगोमा आफ्नै लगानी रहेको अर्को कम्पनीलाई किन्न लगाउने गरेको उल्लेख छ।
यसमा दीपक भट्ट र धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिका कार्यकारी प्रमुख संदिप चाचानले संगठित रूपमा धितोपत्र बजारमा कृत्रिम कारोबारको जालो नै सञ्चालन गरेको प्रतिवेदनमा उल्लेख छ।
यसमा हिमालयन रिइन्स्योरेन्स कम्पनी ली, हिमालयन क्यापसर्व ली, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी ली, हिमालय सेक्युरिटिज बैंकर ली, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छा सहयोगी देखिएका छन्।
सुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स ली, ऋषि राज मोर र राज बहादुर शाह समेत नेपाल रिइन्स्योरेन्सको शेयरको मूल्य बढाउने कार्यमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ। यसको आधारमा प्रतिवेदनमा यी सबैमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पठाउन उपर्युक्त हुने उल्लेख छ।
प्रतिवेदनमा प्रस्ट भट्ट र भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीबीचको मिलेमतोमा धितोपत्र बजारमा ठुलो स्केलको 'इनसाइडर ट्रेडिङ' र कृत्रिम मूल्य वृद्धि भएको सनसनीपूर्ण तथ्यहरू उल्लेख छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि बोर्डले गरेको छानबिनमा भट्टले अर्बौँको सेयर कारोबार विना पैसा 'उधारो'मा गरेको र बजारलाई प्रत्यक्ष प्रभाव पारेको र त्यसमा गोल्छासहितले सहयोग गरेको गम्भीर विवरणहरू उल्लेख छ।
वैशाख १०, २०८३ बिहीबार १९:२६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।