आज साँझदेखि मध्य र पूर्वी नेपालमा भारी वर्षा हुने, चार जिल्ला ‘अति उच्च जोखिम’मा
काठमाडौं : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावका कारण आज अपराह्नपछि नेपालको पूर्वी तथा मध्य भागमा भारी वर्षा हुने देखिएको छ।
युरोपेली मौसम पूर्वानुमान मोडलको ४८ घण्टे विश्लेषण सार्वजनिक गर्दै मौसमविद् डा. विनोद पोखरेलले आज दिनभर हल्कादेखि मध्यम वर्षा भए पनि अपराह्न वा साँझदेखि मध्य तथा पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्।
उनका अनुसार विशेषगरी आज राति वर्षा प्रणाली थप सक्रिय भई ठूलो पानी पर्न सक्नेछ।
४ जिल्ला ‘अति उच्च’ र ३१ जिल्ला ‘उच्च’ जोखिममा
मौसमविद् पोखरेलले सार्वजनिक गरेको जिल्लागत प्रक्षेपण अनुसार नेपालका ४ वटा जिल्ला वर्षाको ‘अति उच्च जोखिम’ मा रहेका छन् भने ३१ वटा जिल्ला ‘उच्च जोखिम’ को सूचीमा छन्।
आगामी ४८ घण्टामा देशको औसत वर्षा ७४ मिलिमिटर हुने अनुमान गरिएको छ। सबैभन्दा धेरै वर्षाको जोखिम रहेका चार जिल्लाहरूमा नवलपरासी पश्चिम, सुनसरी, गोरखा र पाँचथर रहेका छन्।
यसैगरी नवलपरासी पूर्व, रुपन्देही, तनहुँ, बारा, चितवन, मकवानपुर, काठमाडौं उपत्यकासहित बागमती, मधेश, गण्डकी र कोशी प्रदेशका अधिकांश जिल्लामा १०० देखि १७५ मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको छ।
राति प्रणाली थप आक्रामक बन्ने, पश्चिममा प्रभाव न्यून
घण्टागत स्याटेलाइट तथा राडार प्रक्षेपण अनुसार आज दिउँसो २-३ बजेपछि गण्डकी, बागमती र मधेसका तराई भूभागबाट तीव्र वर्षा गराउने बादल प्रवेश गर्ने देखिन्छ।
साँझ ६ बजेदेखि मध्यरातसम्म काठमाडौँ उपत्यका, चितवन, हेटौँडा, जनकपुर र आसपासका क्षेत्रमा भारी वर्षा गराउँदै यो प्रणाली मध्यरातपछि कोशी प्रदेशतर्फ सर्ने देखिएको छ।
यता कर्णाली र सुदूरपश्चिम लगायत पश्चिम नेपालमा भने यो प्रणालीको खासै ठूलो प्रभाव देखिँदैन। ती क्षेत्रमा वर्षा भए पनि हल्का मात्र हुने पूर्वानुमान छ।
सतर्क रहन मौसमविद्को अपिल
मौसमविद् पोखरेलले यो संख्यात्मक मोडलमा आधारित पूर्वानुमान भएकाले वर्षाको निश्चित समय, मात्रा र स्थानमा केही घटबढ हुन सक्ने स्पष्ट पारेका छन्।
“नक्सामा देखाइएको जोखिम जिल्लाको प्रशासनिक सिमानामै मात्र सीमित हुँदैन, आसपासका क्षेत्रमा पनि उत्तिकै प्रभाव पर्न सक्छ,” पोखरेलले भनेका छन्, “त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकहरूले सतर्कता अपनाउनुहोला र जल तथा मौसम विज्ञान विभागको आधिकारिक सूचना तथा नियमित अपडेटमा ध्यान दिनुहोला।”
यसअघि मौसम पूर्वानुमान महाशाखाले पनि आज र भोलि देशैभर प्रतिकूल मौसम रहने भन्दै किसानहरूलाई पाकेको धान नकाट्न, उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक्न तथा बाढी-पहिरोको जोखिमप्रति पूर्वतयारी अपनाउन अपिल गरिसकेको छ।
कात्तिक १३, २०८३ शुक्रबार ०८:१३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।