आह्वान भएको भोलिपल्टै संसद् अधिवेशन स्थगित

आह्वान भएको भोलिपल्टै संसद् अधिवेशन स्थगित

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसद्का दुवै सदनको अधिवेशन हाललाई स्थगित गरेका छन्। सरकारको पछिल्लो सिफारिसका आधारमा राष्ट्रपति पौडेलले बिहीबार उक्त निर्णय गरेका हुन्।

यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले बुधबार अधिवेशन आह्वान गरेका थिए।

तर, अधिवेशन आह्वान भएको भोलिपल्टै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष कारणवश उक्त अधिवेशन हाललाई स्थगित गर्न सिफारिस गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम स्थगितको निर्णय लिएका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको पछिल्लो निर्णय र सिफारिस बमोजिम नै आह्वान गरिएको अधिवेशन हाललाई स्थगित गरिएको हो। तर, स्थगितको कारण खुलाइएको छैन। विज्ञप्तिमा विशेष कारणवश स्थगित गर्नुपरेको मात्र उल्लेख छ। 

वैशाख १०, २०८३ बिहीबार १७:५२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।