नेपाल टेलिकमको समर अफर : प्याकहरू अवधि अब ३० दिन

नेपाल टेलिकमको समर अफर : प्याकहरू अवधि अब ३० दिन

काठमाडौं : नेपाल टेलिकमले वैशाख ११ गतेदेखि लागू हुने गरी नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू समेटिएको ‘समर अफर’ सार्वजनिक गरेको छ। टेलिकमले आफ्ना विभिन्न सेवाहरूमा परिमार्जन गरी नयाँ सुविधाहरू कार्यान्वयनमा ल्याएको हो।

अफरअन्तर्गत टेलिकमले प्रिपेड मोबाइलमा हाल उपलब्ध २८ दिने प्याकेजको अवधिलाई बढाएर ३० दिनको बनाएको छ। अब सबै प्याकेजहरू ३० दिनका हुनेछन् भने भ्वाइस प्याकअन्तर्गतका ३० दिने प्याकेजहरू सबै नेटवर्कमा कल गर्न सकिने ‘अल-नेट’ सुविधासहित उपलब्ध हुनेछन्।

टेलिकमले ‘सजिलो अनलिमिटेड प्याकेज’लाई थप परिमार्जन गरेको छ। जसअनुसार ९९९ रुपैयाँमा अनलिमिटेड अल-नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डाटा र ३०० वटा अल-नेट एसएमएस सुविधा उपलब्ध हुनेछ। त्यसैगरी ७९९ रुपैयाँमा अनलिमिटेड अल-नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० वटा अल-नेट एसएमएसको सुविधा दिइएको छ।

डाटा प्याकअन्तर्गत ५४५ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ। दैनिक डाटा प्रयोग गर्नेहरूका लागि ५९९ रुपैयाँमा प्रतिदिन २ जीबी र ३४५ रुपैयाँमा प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने मासिक डाटा प्याकको व्यवस्था गरिएको छ। 

अनलिमिटेड प्याकेजअन्तर्गत २५ रुपैयाँमा १ घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज र ९९९ रुपैयाँमा ३० दिनसम्म ५ एमबीपीएस गतिको अनलिमिटेड डाटा प्याकेज उपलब्ध गराइएको छ।

टेलिकमले यी प्याकेजका साथै नाइट प्याक, कम्बो प्याक, बन्डल प्याक, एड अन, सीयूजी र एफटीटीएच प्याकहरू समेत उपलब्ध रहेको जनाएको छ। 

सेवाग्राहीले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत यी सेवाहरूका बारेमा जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्। साथै कम्पनीको आधिकारिक वेबसाइटमार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए। 

वैशाख १०, २०८३ बिहीबार १६:५२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।