याङ्गो राइडको नयाँ फड्को: अब च्याट जीपीटीबाटै यात्रा योजना र राइड बुकिङ गर्न सकिने

याङ्गो राइडको नयाँ फड्को: अब च्याट जीपीटीबाटै यात्रा योजना र राइड बुकिङ गर्न सकिने

काठमाडौं : ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले च्याट जीपीटी भित्रै यात्रा योजना र राइड बुकिङ गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ। 

यससँगै प्रयोगकर्ताले अब च्याट जीपीटीभित्रै कुराकानीको माध्यमबाट यात्राको योजना बनाउन र राइड बुकिङ गर्न सक्नेछन्।

यो सुविधा नेपालसहित मध्यपूर्व, दक्षिण एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका साथै २५ भन्दा बढी देशहरूमा एकैसाथ सुरु गरिएको कम्पनीले जनाएको छ।

अब च्याट जीपीटीभित्रै गन्तव्यको रुट, यात्राको समय र गाडी आइपुग्ने अनुमानित समयबारे जानकारी पाइनेछ। कुनै अतिरिक्त शुल्कबिना निश्चित रुटको स्पष्ट मूल्य हेर्न र वैकल्पिक रुटहरूसँग तुलना गर्न सकिने। साथै, प्रतीक्षा समय घटाउन उपयुक्त पिकअप स्थान छनोट गर्न पनि सहयोग गर्नेछ।

यात्रा योजना तय भएपछि प्रयोगकर्ताले अनुमानित भाडा याङ्गो एप वा वेब प्लेटफर्ममार्फत हेरेर सुरक्षित रूपमा बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्।

यो सुविधा विशेषगरी बारम्बार यात्रा गर्ने, पर्यटक तथा व्यवसायिक प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। च्याट जीपीटी भित्रै राइड–हेलिङ सुविधा समावेश भएपछि प्रयोगकर्ताले विभिन्न एपहरू परिवर्तन नगरी सजिलै आफ्नो दैनिक यात्रा व्यवस्थापन गर्न सक्नेछन्।

याङ्गो राइडले यो प्रणाली वास्तविक समयको ट्राफिक डेटा र स्मार्ट रुटिङ प्रविधिमा आधारित रहेको बताएको छ, जसले सडक अवस्थाअनुसार यात्राको समय र लागतलाई निरन्तर अद्यावधिक गर्छ।

कम्पनीले भविष्यमा च्याट जीपीटी एकीकरणलाई अझ विस्तार गर्दै डेलिभरी, सार्वजनिक यातायात तथा फूड डेलिभरी जस्ता सेवाहरू समेत समावेश गर्ने योजना बनाएको छ।

वैशाख १०, २०८३ बिहीबार १५:०७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।