कर्मचारीको दैनिक हाजिर विद्युतीय प्रणालीबाटै गर्न सरकारको निर्देशन, १५/१५ दिनमा प्रमाणित गर्नुपर्ने
काठमाडौं : सरकारले देशभरिका सबै सरकारी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको दैनिक उपस्थितिका लागि विद्युतीय हाजिरी प्रणालीलाई अनिवार्य गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, विभाग, निकाय र स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय हाजिरी प्रणाली कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।
मन्त्रालयको ‘प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा’ले परिपत्रअनुसार अब सबै कार्यालयले कर्मचारीको दैनिक उपस्थिति (कार्यालय आएको र गएको समय) अनिवार्य रूपमा विद्युतीय प्रणालीबाटै गर्नुपर्नेछ।
हालसम्म यो व्यवस्था लागू नभएका कार्यालयहरूलाई पनि तत्काल यसको प्राविधिक व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी, मन्त्रालयले हाजिरीको रेकर्ड सुरक्षित राख्न अर्को महत्त्वपूर्ण व्यवस्थासमेत थप गरेको छ। परिपत्रअनुसार अब सबै कार्यालयले प्रत्येक १५ दिनमा विद्युतीय हाजिरीको विवरण प्रिन्ट गर्नुपर्नेछ।
त्यसरी प्रिन्ट गरिएको विवरणलाई सम्बन्धित अधिकारीबाट प्रमाणित गराई कार्यालयको अभिलेखमा सुरक्षित राख्नुपर्ने मन्त्रालयले जनाएको छ। वैशाख ८ गते सचिवस्तरबाट भएको निर्णयअनुसार यो निर्देशन जारी गरिएको उल्लेख छ।
वैशाख १०, २०८३ बिहीबार १३:५५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।