सुधनको ठाउँमा सुनिल
काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बुधबार तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि आजको बैठकमा मन्त्रीहरूको बसाइ व्यवस्थापनमा परिवर्तन देखिएको छ।
प्रधानमन्त्रीको देब्रेपट्टिको दोस्रो स्थानमा बस्दै आएका सुधन गुरुङको ठाउँमा आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्री सुनिल लम्साल बसेका छन्।

मन्त्रिपरिषद् गठन हुँदा लम्साल पाचौं वरीयतामामै भए पनि मर्यादाक्रम हेरफेरका क्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई चौथो वरीयतामा उकाल्दा उनी छैटौं वरीयतामा पुगेका थिए। तर, सुधनको राजीनामासँगै उनी स्वत: पाचौं वरीयतामा उक्लिएका छन्।
सेयर खरिद प्रकरणमा विवादित व्यवसायी दीपक भट्टसँग साझेदार रहेको खुलासा भएसँगै चौतर्फी प्रश्न उठेपछि तत्कालीन गृहमन्त्री गुरुङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका थिए।
उनको बहिर्गमनसँगै क्याबिनेट बैठकको बसाइ व्यवस्थामा हेरफेर भएको हो।

यसअघि चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा सुधन गुरुङ तेस्रो वरीयतामा थिए। पहिलो मन्त्रिपरिषद् बैठकमा उनी प्रधानमन्त्रीको देब्रेपट्टि ठ्याक्कै पहिलो कुर्सीमा बसेका थिए।
तर, मन्त्री बनेको १५ दिन पनि नपुग्दै चैत २४ गते उनको वरीयता घटेर पाँचौं नम्बरमा पुगेको थियो।
वरीयता घटेसँगै उनी प्रधानमन्त्रीको देब्रेपट्टिको दोस्रो स्थानमा सर्दै बस्दै आएका थिए। आजको बैठकमा भने उनको राजीनामापछि सोही कुर्सीमा यातायातमन्त्री लम्साल सरेका हुन्।

वैशाख १०, २०८३ बिहीबार १३:०२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।