चितवनमा अटोबाट ओर्लिने क्रममा लडेर ५५ वर्षीया महिलाको मृत्यु
चितवन : चितवनको कालिका नगरपालिकामा गुडिरहेको अटोबाट ओर्लिने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ९, शक्तिखोर निवासी ५५ वर्षीया फुलमाया परियार रहेकी छन्।
प्रहरीका अनुसार २०८३ वैशाख ९ गते दिउँसो करिब १ बजे कालिका नगरपालिका-८ स्थित वडा कार्यालयबाट जुटपानीतर्फ आउँदै गरेको ना २ ह २२३७ नम्बरको अटोमा उनी सवार थिइन्।
कालिका-८ न्युरेनी भन्ने स्थानमा आइपुगेपछि अटोबाट ओर्लिने क्रममा खसेर लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
दुर्घटनालगत्तै घाइते फुलमायालाई प्राथमिक उपचारका लागि कालिका नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि आफन्तहरूले भरतपुरस्थित सरकारी अस्पताल पुर्याएका थिए।
तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले परीक्षण गरी दिउँसो १ बजेर २० मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।
भरतपुर अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत घटनाको जानकारी प्राप्त हुनासाथ जुटपानी प्रहरी चौकीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) जय नेपाल थापाको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
घटनास्थल जुटपानी प्रहरी चौकीबाट करिब ५ किलोमिटर उत्तरमा पर्छ। प्रहरीले दुर्घटनामा संलग्न अटो र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
वैशाख १०, २०८३ बिहीबार ११:०९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।