सर्वोच्च अदालतमा कार्यरत प्रहरीमाथि प्रेमिकाकी ६ वर्षीया छोरी बलात्कारको आरोप, जन्मकैदको माग गर्दै मुद्दा
ललितपुर : सर्वोच्च अदालतको सुरक्षा एकाइमा कार्यरत एक प्रहरी जवानमाथि आफ्नै प्रेमिकाकी ६ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको गम्भीर आरोपमा मुद्दा दर्ता भएको छ।
ललितपुर जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले ती प्रहरी जवानविरुद्ध जन्मकैद र सात लाख रुपैयाँ जरिवानाको मागदाबी गर्दै अभियोगपत्र दायर गरेको हो।
अभियोग लाग्नेमा सुदूरपश्चिम प्रदेश, बैतडीको दशरथचन्द्र नगरपालिका-४ जर्ग घर भई हाल सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ, रामशाहपथमा कार्यरत २८ वर्षीय प्रहरी जवान भुवन रण लुहार (भुवन राम लुहार) रहेका छन्।
अभियोगपत्रमा उल्लेख गरिएअनुसार, पीडित बालिकाकी आमा र प्रहरी जवान भुवनबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। बालिकाका बाबु वैदेशिक रोजगारीका लागि दुबई गएपछि सम्पर्कविहीन भएका थिए।
ललितपुरको इमाडोलमा डेरा गरी बस्ने र ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी ती महिलासँग प्रहरी जवान भुवन बेलाबेलामा कोठामा आउजाउ गर्ने र सँगै बस्ने गर्थे।
घटना २०८२ साल पुस १८ गते रातिको हो। राति करिब ९ बजेको समयमा मदिरा सेवन गरेर डेरामा पुगेका भुवनले प्रेमिका (बालिकाकी आमा) सँग झगडा तथा कुटपिट गर्न थाले। कुटाइबाट बच्न आमा कोठाबाहिर भागेर सडकमा पुगिन्।
त्यही मौका छोपेर भुवनले ओछ्यानमा रहेकी ६ वर्षीया बालिकालाई ललाईफकाई ब्लाङ्केटले छोपेर जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ।
आमाले झ्यालबाट देखेपछि इँटा प्रहार
आफू भागेपछि कोठामा सानीमाकी छोरी र आफ्नी नाबालिका छोरी मात्र रहेको सम्झेर आमा केही बेरपछि फर्किइन्। बाहिर झ्यालबाट चिहाएर हेर्दा उनले भुवनले आफ्नी छोरीलाई ब्लाङ्केटले छोपेर नग्न अवस्थामा करणी गरिरहेको देखिन्।
तत्कालै उनले बाहिरबाट इँटा उठाएर भुवनलाई दुईपटक प्रहार गरिन्। त्यसपछि भुवन त्यहाँबाट भागेका थिए। घटनालगत्तै बालिकाले आमालाई ‘अंकलले सुसु गर्ने ठाउँमा औँला छिराएर दुख्यो’ भनेर बताएकी थिइन्।
आमाले हेर्दा बालिकाको यौनाङ्ग रातो भएर सुन्निएको अवस्थामा थियो। लगत्तै मेडिकलमा लगेर मलम लगाइएको र बालिका दुखाइका कारण पाँच दिनसम्म स्कुल जान नसकेको जाहेरीमा उल्लेख छ।
सुरुमा प्रहरी जवान भुवनले ‘अब गल्ती गर्दिनँ’ भन्दै रोएर माफी मागेपछि आमाले उजुरी दिएकी थिइनन्। तर, पछिल्लो समय उनले फेरि फोन गरेर धम्क्याउन थालेपछि ज्यानको जोखिम मोलेर प्रहरीमा किटानी जाहेरी दिएको महिलाले खुलाएकी छन्।
प्रहरी जवानको इन्कारी बयान
अनुसन्धानका क्रममा पक्राउ परेका प्रहरी जवान भुवनले भने आरोप अस्वीकार गरेका छन्। उनले महिलासँग आफ्नो प्रेम र शारीरिक सम्बन्ध रहेको स्वीकार गरेका छन्।
तर, पुस १८ गते राति कोठामा जाँदा महिलाले आफ्नो मोबाइलमा अर्की महिलाको म्यासेज देखेर विवाद गरेको र सामान्य हातपात भएपछि आफू कोठाबाट निस्किएर ड्युटीतर्फ गएको दाबी बयानमा गरेका छन्। उनले रिसइबी र झैझगडाको कारण आफूलाई फसाउन झुटो जाहेरी दिएको दाबी गरेका छन्।
यद्यपि, पाटन अस्पतालमा गरिएको बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनले बालिकाको यौनाङ्ग सुन्निएको पुष्टि गरेको छ भने मनोसामाजिक परामर्श प्रतिवेदनले बालिकामा गहिरो मानसिक आघात (ट्रमा) परेको, तर्सिने र निद्रामै कराउने जस्ता लक्षण देखिएको जनाएको छ।
ललितपुर जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता वसन्त अर्यालद्वारा दायर गरिएको अभियोगपत्रमा भुवनविरुद्ध १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको कसुरमा जन्मकैद (२५ वर्ष कैद) को माग गरिएको छ।
साथै, ७ लाख रुपैयाँ जरिवाना गरी सो रकम पीडित राहत कोषमा जम्मा गराउन र अपराध पीडित संरक्षण ऐनअनुसार अभियुक्तबाटै पीडित बालिकालाई मनासिब क्षतिपूर्ति भराउन अदालतसमक्ष मागदाबी गरिएको छ।
वैशाख १०, २०८३ बिहीबार १०:१५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।